स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै कांग्रेस केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्रको उम्मेदवारी

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय मिश्रले आफ्नो चिकित्सकीय अनुभव, पेसागत नेतृत्व क्षमता र राजनीतिक प्रतिबद्धतालाई पार्टीको नीति निर्माण तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
कांग्रेसको राजनीतिक पृष्ठभूमि भएको परिवारमा हुर्किएका मिश्रका पिता नारायण मिश्र नेपाली कांग्रेसका नेता तथा तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति हुन्। बाल्यकालदेखि नै कांग्रेसका नेता, कार्यकर्ता तथा बौद्धिक व्यक्तित्वको राजनीतिक वातावरणमा हुर्किएका मिश्र विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएका थिए।
बीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद तथा लोकतान्त्रिक मूल्य–मान्यताबाट प्रभावित रहेको बताउने मिश्रले स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि राजनीतिक तथा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
सन् २००७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका मिश्रले सन् २०१५ देखि धनगढीमा नवजात शिशु तथा बालरोग विशेषज्ञका रूपमा सेवा सुरु गरेका हुन्। उपचारका क्रममा सुदूरपश्चिमका ग्रामीण तथा विपन्न समुदायले स्वास्थ्य सेवामा भोगिरहेका समस्या नजिकबाट देखेको र त्यसले आफूलाई नीतिगत तहमा काम गर्न प्रेरित गरेको उनको भनाइ छ।
‘राजनीति नै सबै नीतिको मूल नीति हो। स्वास्थ्य र सामाजिक नीतिको पुनर्संरचना राजनीतिक तहबाटै गर्न सकिन्छ,’ मिश्रले भने, ‘विषय विज्ञका रूपमा कांग्रेसलाई स्वास्थ्य क्षेत्रका समस्याको समाधानका लागि सुझाव दिने र ती योजना कार्यान्वयनका लागि सरकारमाथि दबाब सिर्जना गर्न भूमिका खेल्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ।’
मिश्रले नेपाल चिकित्सक संघ, सुदूरपश्चिम शाखाको पूर्वसचिव तथा पूर्वअध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी प्रजातान्त्रिक चिकित्सक संघ, सुदूरपश्चिम प्रदेशका संयोजकसमेत हुन्। यसअघि उनले सुदूरपश्चिम प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री गोविन्द बोहराको विज्ञ सल्लाहकारका रूपमा समेत काम गरेका थिए।
स्वास्थ्य क्षेत्रको आफ्नो विशेषज्ञता र अनुभवलाई पार्टीको नीति, योजना तथा निर्णय प्रक्रियासँग जोड्नु आफ्नो मुख्य प्राथमिकता रहेको मिश्रले बताएका छन्। हरेक विपन्न तथा पहुँचविहीन नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य नीतिमा व्यापक सुधार आवश्यक रहेको उनको भनाइ छ।
चिकित्सक, इन्जिनियर, बुद्धिजीवीलगायत विभिन्न पेसागत क्षेत्रका विज्ञहरूको आवाजलाई पार्टीको मूलधारमा जोड्दै कांग्रेसलाई थप संस्थागत, आधुनिक र लोकतान्त्रिक बनाउने लक्ष्यसमेत उनले अघि सारेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै मतदानमार्फत विजयी गराउन आग्रह गरेका छन्।





प्रतिकृया दिनुहोस्