September 28, 2026, Monday
२०८३ आश्विन १२

सुदूरपश्चिम प्रदेशमा वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै

धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा वर्षा जारी रहे पनि ठूलो जोखिम भने क्रमशः घट्दै गएको छ। अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले वर्षाजन्य जोखिम पनि कम हुँदै गएको हो।

असोज ९ गतेदेखि लगातार भइरहेको वर्षाका कारण प्रदेशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भए पनि पछिल्लो मौसम प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार आइतबार दिउँसोदेखि न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले जोखिम घटेको हो। यद्यपि, सतर्कता भने कायमै राख्नुपर्ने उनले बताए।

उनका अनुसार आइतबार दिउँसो सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। तर, आइतबार रातिदेखि प्रदेशभर मध्यम खालको वर्षा हुने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमानअनुसार आइतबार दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र सामान्यतया बदली रहनेछन्। धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

आइतबार राति पनि हिमाली, पहाडी र तराई क्षेत्रमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको कार्यालयले जनाएको छ।

आगामी बुधबार भने प्रदेशका अधिकांश स्थानमा मौसम आंशिक बदली रहने र केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। बुधबार राति तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।