September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

सर्पदंशबाट युवतीको मृत्यु : महाकाली अस्पतालमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन

कञ्चनपुर । सर्पदंशको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा युवतीको मृत्यु भएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले ३ सदस्यीय समिति गठन गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट टीकापुर अस्पतालका चिकित्सक डा. मनीष आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि सदस्य छन्। समितिलाई ७ दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन बुझाउन समय दिइएको छ।

‘बुधबारदेखि हामीले महेन्द्रनगर पुगेर छानबिनको काम सुरु गर्छौं,’ समितिका सदस्य सुनारले भने, ‘मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको हो। हामीले मन्त्रालयमै प्रतिवेदन बुझाउने छौं।’

भीमदत्त नगरपालिका–१० सुकासालकी ३३ वर्षीया संगीता बडुको शुक्रबार महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। भदौ ५ गते सर्पदंश भएपछि अस्पताल भर्ना गरिएकी बडुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

समयमै अस्पताल पुर्‍याए पनि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन्। चिकित्सकको लापरबाहीको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै आफन्तले पाँच दिनदेखि शव बुझ्न अस्वीकार गरेका छन्। शव अहिले अस्पतालको शवगृहमा राखिएको छ।

छानबिन समिति गठन भइसकेपछि पनि आफन्तले शव बुझ्न मानेका छैनन्। मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रशासनले शव बुझ्न दबाब दिएको मृतककी बहिनी ज्योति बडुले बताइन्।

‘हामीले अहिले नै शव बुझ्ने मनसाय बनाएका छैनौं, समितिले कसरी काम गर्छ त्यसलाई हेर्छौं,’ उनले भनिन्, ‘प्रशासनले हामीलाई शव बुझ्न दबाब दियो, तर हामीले अहिले मान्न सकिँदैन भनेका छौं।’

यसअघि अस्पताल प्रशासन र पीडित पक्षबीच पनि घटनाबारे छलफल भएको थियो। अब छानबिन समितिको प्रतिवेदनले उपचारमा चिकित्सकीय लापरबाही भए–नभएको यकिन गर्नेछ।