September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

कैलालीका स्तरीय होटल अब राति १२ बजेसम्म खुल्ने

धनगढी । कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।

यसअघि होटल तथा व्यवसाय राति १० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेकामा होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो ।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्तरीय होटलका रूपमा दर्ता भएका होटलले राति १२ बजेसम्म ग्राहकलाई सेवा दिन पाउनेछन् । होटल व्यवसायी संघ कैलालीका अनुसार जिल्लामा यसरी दर्ता भएका स्तरीय होटलको संख्या करिब एक सय छ ।

सञ्चालन समय थप गर्ने सहमतिपत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयले हस्ताक्षर गरेका छन् ।

राति अबेर धनगढी पुग्ने आन्तरिक तथा बाह्य पर्यटक, हवाई यात्रु र लामो दूरीका यात्रुलाई खाना तथा आवासको सुविधा लिन सहज बनाउने उद्देश्यले होटलको सञ्चालन समय थप गरिएको व्यवसायीको भनाइ छ ।

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष पाण्डेयले नयाँ व्यवस्थाले अबेर धनगढी पुग्ने यात्रु तथा पर्यटकलाई सेवा लिन सहज हुने बताए । यसले धनगढीमा पर्यटकको बसाइ लम्ब्याउन तथा होटल र पर्यटन व्यवसायलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

तर, राति १२ बजेसम्म सञ्चालन गर्न पाउने सुविधा स्तरीय होटललाई मात्र दिइएको छ । अन्य होटल तथा व्यापारिक प्रतिष्ठानका लागि यसअघि कायम रहेको राति १० बजेसम्मको समयसीमा यथावत् रहनेछ ।

प्रशासनले थप समय सञ्चालनको अनुमति पाए पनि होटल सञ्चालकलाई सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ । रातिको समयमा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ग्राहकको विवरण राख्ने, होटल परिसरको निगरानी गर्ने तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रशासनले आग्रह गरेको छ ।