September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

अट्वारी पर्वमा भीमको पूजा, चेलीबेटीका लागि ‘अग्रासन’

धनगढी । पानीसमेत नखाई निराहार व्रत, भीमको पूजा, एकातर्फ मात्रै पाक्ने अनदीको रोटी र विवाहित चेलीबेटीका लागि ‘अग्रासन’, थारू समुदायको अट्वारी पर्व धार्मिक आस्था र पारिवारिक आत्मीयताको संगम बनेको छ। सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा थारू समुदायले आइतबारदेखि दुईदिने अट्वारी पर्व मनाइरहेका छन्।

प्रकृति पूजक थारू समुदायमा अट्वारी धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व हो। सूर्यले ताप, शक्ति र उज्यालो दिने भएकाले अट्वारीमा सूर्यदेवताको पूजा गर्दा सुख, शान्ति र दीर्घजीवन प्राप्त हुने विश्वास रहेको थारू बुद्धिजीवी तथा साहित्यकार छविलाल कोपिला बताउँछन्। उनका अनुसार प्रकृति पूजक थारू समुदायले अग्निपूजाका रूपमा सूर्यदेवताको आराधना गर्दै अट्वारी मनाउने गरेको हो।

अट्वारीको सम्बन्ध महाभारतकालीन कथासँग पनि जोडिएको छ। पाँच पाण्डवमध्येका भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेको किंवदन्तीका आधारमा भीम अर्थात् ‘भेँवा’को पूजा गरी अट्वारी मनाउने गरिएको बताइन्छ। थारू राजा दङ्गीशरणलाई भीमले युद्धमा सहयोग गरेको स्मरणमा पर्व मनाउन थालिएको अर्को जनविश्वास पनि छ।

यही किंवदन्तीसँग अट्वारीका परिकार र पूजाविधि पनि जोडिएका छन्। कैलारी गाउँपालिका–७, रतनपुरका दीपक चौधरीका अनुसार भीमले तावामा राखेको रोटी एकातर्फबाट मात्रै पाकेकाले अट्वारीमा पकाइने अनदीको रोटी पनि एकातर्फबाट मात्रै पकाउने चलन छ।

अट्वारीको तयारी अघिल्लो दिनदेखि सुरु हुन्छ। अघिल्लो रात माछा, गंगटा, घोङ्घीलगायत परिकार पकाएर ‘भिन्सर्या भात’ अर्थात् ‘दर’ खाने परम्परा छ। भाले बास्नुअघि नै भिन्सर्या खाइसक्नुपर्ने मान्यता रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी बताउँछन्।

भिन्सर्या खाएपछि व्रतालुहरू अट्वारीको पहिलो दिन दिनभरि निराहार बस्छन्। साँझ स्नान गरी गन्यारी काठबाट आगो निकालेर ‘अग्यारी’ बालिन्छ। त्यसपछि गहुँ, चामल र अनदी चामलको पिठोबाट विभिन्न प्रकारका रोटी पकाइन्छ। रोटी तयार भएपछि परिवारका व्रतालु सदस्यहरू ‘बह्री कोन्टी’ अर्थात् बैठक कोठामा भेला भएर भीमको नाममा पूजापाठ गर्छन्।

पूजापछि मात्रै जल ग्रहण गर्ने र अनदीको रोटी, फलफूल तथा दही खाने चलन छ। आफूले खाने रोटी, फलफूल र दहीको केही अंश दिदीबहिनीका लागि छुट्याउने परम्परा पनि छ। अट्वारीको पहिलो दिन रोटी र फलफूलबाहेक माछामासु नखाने चलन रहेको चौधरी बताउँछन्।

पर्वको दोस्रो दिनलाई ‘फह्रार’ भनिन्छ। बिहान स्नान तथा पूजाआजा गरी भात र तरकारी पकाइन्छ। तीनदेखि सात प्रकारसम्म तरकारी पकाउने चलन भए पनि मास र पवै सागलाई अनिवार्य मानिन्छ। सबै परिकार तयार भएपछि पुनः भीमको नाममा पूजापाठ गरी आफ्नो भागको भात–तरकारीबाट केही अंश दिदीबहिनीका लागि छुट्याइन्छ।

दिदीबहिनीका लागि छुट्याइएको खानेकुरालाई थारू भाषामा ‘अग्रासन’ भनिन्छ। अनदीको रोटीसहित विभिन्न परिकार माइतीबाट विवाहित छोरीचेलीलाई उपहारका रूपमा पुर्‍याउने चलन छ। अट्वारीमा चेलीबेटीहरू अग्रासनको प्रतीक्षामा रहने भएकाले दाजुभाइले आफ्ना दिदीबहिनी तथा चेलीका लागि व्रत बस्ने परम्परा पनि रहेको बताइन्छ।

मटाँवा बरघर महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार अट्वारीमा भीमको पूजा गरेपछि उनीजस्तै बलियो भइने जनविश्वास छ। यही विश्वासका कारण अहिले पनि भीमको नाममा आगोमा अट्वारीका परिकार चढाउने तथा जल र मोहीले पूजापाठ गर्ने परम्परा कायम रहेको उनी बताउँछन्।

अट्वारी धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। यसले माइती–चेलीबीचको सम्बन्धलाई नवीकरण गर्ने अवसरसमेत प्रदान गर्छ। वर्षभरि भेटघाट हुन नसकेका दिदीबहिनीलाई माइतीबाट अग्रासन पुर्‍याउने चलनले पर्वको भावनात्मक पक्षलाई थप बलियो बनाएको चौधरी बताउँछन्।

“अट्वारीमा चेलीबेटीहरू माइतीको अग्रासनको पर्खाइमा बसेका हुन्छन्,” उनी भन्छन्, “दाजुभाइ अग्रासन लिएर घरमा पुग्दा चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ। वर्षदिनसम्म भेट्न नपाएका दिदीबहिनीलाई भेट्न पाउँदा दाजुभाइ पनि उत्तिकै खुसी हुन्छन्।”

जन्माष्टमी अर्थात् ‘अस्टिम्की’ पर्वपछि आउने दोस्रो आइतबार अट्वारी मनाउने थारू समुदायको परम्परा छ। वर्षमा एकपटक आउने र विशेषगरी पुरुषले मनाउने यो पर्वका लागि रोजगारी, व्यवसाय तथा अध्ययनका सिलसिलामा सहर र जिल्ला बाहिर रहेका पुरुषहरू घर फर्किएपछि थारू बस्तीमा चहलपहलसमेत बढेको छ।