September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

जेई संक्रमण बढेपछि कैलालीका तीन स्थानीय तहमा खोप अभियान, १ लाख ८२ हजारलाई लगाइने

धनगढी । कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। जेई संक्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले आगामी असोज १ गतेदेखि धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य कार्यालय कैलालीका खोप फोकल पर्सन सूर्य बिष्टका अनुसार अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ। धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी तीन स्थानीय तहका १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। लक्षित जनसंख्यामध्ये १ लाख ३८९ जना महिला छन्।

अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्थानीय तह र स्वास्थ्य संस्थामार्फत खोप लगाउने गरी आवश्यक तयारी भइरहेको कार्यालयको भनाइ छ।

स्वास्थ्य कार्यालयका अनुसार सन् २०२६ को सुरुवातयता घोडाघोडीमा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। धनगढी र लम्कीचुहामा पनि तीन–तीन जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो, जसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्छ। संक्रमित लामखुट्टेको टोकाइबाट भाइरस शरीरमा प्रवेश गरेपछि मस्तिष्कमा गम्भीर समस्या निम्तिन सक्ने उनले बताए।

जेई मानिसबाट मानिसमा नसर्ने भए पनि संक्रमित व्यक्तिमा उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजताजस्ता लक्षण देखिन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। संक्रमित सबै व्यक्तिमा भने लक्षण नदेखिन पनि सक्छ।

कुँवरले जेईबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने र पूरा बाहुला भएका कपडा लगाउनेजस्ता सावधानी अपनाउन उनले सुझाव दिएका छन्।

जेईको संक्रमण चक्र सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेसँग सम्बन्धित हुने भएकाले यस्ता पशुपन्छीलाई बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहबाट हुने र संक्रमण पुष्टि गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने कुँवरले जानकारी दिए।