September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

मोदी-सी भेटवार्ता : सीमा विवाद समाधानदेखि आर्थिक सम्बन्ध सुधारसम्म सहमति

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनको ‘साइडलाइन’मा द्विपक्षीय भेटवार्ता भएको छ। लद्दाख सीमा विवादपछि चिसिएको भारत–चीन सम्बन्ध क्रमशः सुधारोन्मुख भइरहेका बेला भएको भेटमा दुवै नेताले सीमा विवाद समाधानसँगै द्विपक्षीय सम्बन्धलाई थप गति दिने विषयमा सहमति भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शनिबार भएको भेटमा दुवै पक्षले विवादित सीमा प्रश्नको निष्पक्ष, तर्कसंगत र आपसी रूपमा स्वीकार्य समाधान खोज्न निरन्तर संवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न यसअघि भएका सम्झौता तथा समझदारीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्।

भेटमा दुई देशबीचको व्यापारिक असन्तुलन र आपूर्ति शृंखलासँग सम्बन्धित समस्याबारे पनि छलफल भएको छ। दुवै नेताले एकअर्काका आर्थिक चासोलाई सम्बोधन गर्दै अर्थपूर्ण, निष्पक्ष र पूर्वानुमानयोग्य बजार पहुँच सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी भारत र चीनबीच सांस्कृतिक, व्यापारिक तथा यातायात सम्पर्क विस्तार गर्ने विषयमा समेत सहमति भएको छ। सम्बन्धलाई स्थिर र दीर्घकालीन बनाउन राजनीतिक संवादसँगै आर्थिक तथा जनस्तरीय सम्पर्क बढाउने रणनीति दुवै पक्षले अघि सारेका छन्।

भेटपछि जारी भिडियो सन्देशमा राष्ट्रपति सीले भारत र चीन फरक भए पनि एकअर्काको सामर्थ्यलाई पूरक बनाउँदै सहयोग र साझा सफलता हासिल गर्न सक्ने बताएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सीले चीनले भारतसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्दै आएको उल्लेख गर्दै द्विपक्षीय संस्थागत संयन्त्र पुनः सक्रिय हुँदै गएको र व्यापार नयाँ उचाइमा पुगेको बताएका छन्।

सी चिनियाँ विदेशमन्त्री वाङ यी तथा कम्युनिस्ट पार्टीका उच्च अधिकारी काई छी लगायतको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार नयाँ दिल्ली पुगेका हुन्। करिब सात वर्षपछि भएको उनको भारत भ्रमण सन् २०२० मा लद्दाखको गलवान क्षेत्रमा भएको घातक सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध सुधारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

गलवान घटनापछि भारत र चीनबीच हवाई उडान पुनः सञ्चालनको तयारी, भिसा सेवामा सहजता र उच्चस्तरीय राजनीतिक संवादमार्फत सम्बन्ध सुधारको प्रयास हुँदै आएको छ। यद्यपि करिब ३ हजार ५०० किलोमिटर लामो वास्तविक नियन्त्रण रेखा (एलएसी) क्षेत्रमा दुवै देशले अझै ठूलो संख्यामा सैन्य उपस्थिति कायम राखेका छन्।

विश्लेषकहरूका अनुसार भारत र चीनबीच आर्थिक तथा जनस्तरीय सम्बन्ध सुधार्ने प्रयाससँगै सीमा क्षेत्रमा कायम सैन्य तनाव व्यवस्थापन गर्नु दुवै देशका लागि मुख्य चुनौती हुनेछ। मेलबर्न विश्वविद्यालयका चीन–भारत मामिलाविज्ञ प्रदीप तनेजाका अनुसार दुवै पक्ष सीमा मुद्दामा छिटो र ठोस प्रगति चाहन्छन्, तर सैन्य तैनाथी कायम राख्दै समग्र सम्बन्ध सामान्य बनाउने प्रक्रिया सहज भने छैन।