आसिफको शतक र गुल्सनको अर्धशतकसँगै नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको आक्रामक अर्धशतकसँगै नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो।
नेपालका लागि आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो।
आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए। अर्जुन ४३ रनमा आउट भए। त्यसपछि इशान पाण्डे १३ रनमा पेभेलियन फर्किए।
आसिफले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे। रोहितले ४० रन बनाए। आसिफ १०२ रनमा आउट भएपछि नेपालको मध्यक्रम सम्हाल्न आएका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए।
गुल्सनले यूएईविरुद्ध ३७ रन पूरा गरेसँगै एकदिवसीय क्रिकेटमा आफ्नो १ हजार रन पनि पूरा गरेका छन्। उनी नेपालका लागि यो उपलब्धि हासिल गर्ने सातौं खेलाडी बने।
दीपेन्द्रसिंह ऐरीले १८ तथा बसिर अहमदले अविजित १५ रन जोडे। यूएईका इब्रार अहमद र खुजैमा बिन तनवीरले समान २ तथा हैदर अली र आदिब उस्मानीले १–१ विकेट लिए।
फाइनल जित्ने टोलीले प्रिमियर कपको उपाधिसँगै सन् २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। सन् २०२३ को प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो।





प्रतिकृया दिनुहोस्