September 16, 2026, Wednesday
२०८३ भाद्र ३१

एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल-यूएई भिड्दै

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई भिड्दैछन्। मलेसियामा जारी प्रतियोगिताको फाइनल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।

फाइनल जित्ने टोलीले प्रिमियर कपको उपाधिसँगै २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले नेपालका लागि आजको खेल उपाधि रक्षा मात्र नभई एसिया कपको टिकट सुनिश्चित गर्ने महत्वपूर्ण अवसरसमेत हो।

नेपालले सन् २०२३ को प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो। यसपटक पनि चिरप्रतिद्वन्द्वी यूएईलाई पराजित गर्दै उपाधि रक्षा गर्ने लक्ष्यमा नेपाल हुनेछ।

फाइनल यात्रा तय गर्ने क्रममा नेपालले बिहीबार सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गरेको थियो। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको ओमान ६० रनमै अलआउट भएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै न्यून स्कोर रक्षा गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालको फाइनल यात्रामा बलिङ मुख्य हतियार बनेको छ। कप्तान सन्दीप लामिछानेले पाँच खेलमा १६ विकेट लिँदै प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। ललित राजवंशीले ९, दीपेन्द्रसिंह ऐरीले ७ तथा करण केसीले ६ विकेट लिएका छन्।

तर नेपालको मुख्य चिन्ता ब्याटिङ हो। प्रतियोगितामा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीमा नेपालका कुनै पनि ब्याटर छैनन्। इशान पाण्डेले पाँच खेलमा १ सय ५२ रन बनाएर नेपालको तर्फबाट सर्वाधिक रन जोडेका छन्।

ओपनिङमा पनि नेपालले स्थिरता पाउन सकेको छैन। पछिल्लो खेलमा देव खनाललाई ओपनिङको जिम्मेवारी दिइए पनि अपेक्षित प्रदर्शन हुन सकेन। मिडल अर्डरबाट पनि निरन्तर प्रभावकारी योगदान नआउँदा फाइनलमा ब्याटिङ सुधार गर्नु नेपालका लागि अनिवार्य देखिन्छ।

उता यूएई प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको छ। उसले सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गरेको थियो। यूएईका अदिब उस्मानीले पाँच खेलमा १ सय ८२ रन बनाएका छन् भने हैदर अली र आयान खानले समान १० विकेट लिएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच अहिलेसम्म १९ खेल भएका छन्। नेपालले ११ खेल जित्दा यूएईले ८ खेलमा बाजी मारेको छ।

नेपालले फाइनल जिते लगातार दोस्रोपटक एकदिवसीय एसिया कप खेल्नेछ। सन् २०२३ को एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गरेको थियो। यसपटक पनि एसिया कपको यात्रा सुनिश्चित गर्न नेपालसँग फाइनल जित्नुको विकल्प छैन।