September 11, 2026, Friday
२०८३ भाद्र २६

बाजुरामा सुरक्षित मातृत्वको विडम्बना : अस्पताल होइन, बाटोमै जन्मिन्छन् शिशु

बाजुरा । सरकारले सुरक्षित मातृत्वका नाममा वर्षौँदेखि करोडौँ रुपैयाँ खर्च गरिरहेको छ। ‘सुनौला हजार दिन’देखि नियमित गर्भजाँच र संस्थागत प्रसूतिसम्मका कार्यक्रम गाउँगाउँ पुगेका छन्। तर बाजुराका आमाका लागि सुरक्षित सुत्केरी अझै पनि सरकारी नारामै सीमित देखिन्छ। अस्पताल पुग्नुपर्ने गर्भवती बाटोमै सुत्केरी हुने क्रम रोकिएको छैन।

यसको पछिल्लो उदाहरण हुन्– खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटी। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थातर्फ हिँडेकी कमलाले मंगलबार दिउँसो बूढीगङ्गा नगरपालिका–६, फलासैन बजारमाथिको बाटोमै छोरालाई जन्म दिइन्। स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मी घटनास्थल पुग्दा उनी प्रसव पीडामा छटपटाइरहेकी थिइन्। स्वास्थ्यकर्मीले त्यहीँ प्रसूति गराएर आमा र नवजात शिशुलाई स्वास्थ्य चौकी पुर्‍याए।

कमलाको घटना केवल संयोग थिएन। उनको बाटोमै प्रसूति हुनुमा सडक र यातायातको समस्या मात्र होइन, वर्षौँदेखि जरा गाडेको अन्धविश्वास पनि जिम्मेवार देखियो। कृष्ण जन्माष्टमीका लागि माइतीघर बडीमालिका–६, कोर्ध पुगेकी उनलाई त्यहीँ प्रसूति व्यथा लागेको थियो। तर विवाहित महिलाले माइतीघरमा बच्चा जन्माए देवता रिसाउने मान्यताका कारण उनी स्वास्थ्य संस्था जानुको सट्टा घर फर्किन बाध्य भइन्।

माइतीघरबाट करिब एक घण्टामा पुगिने जडाङ्गा स्वास्थ्य चौकी वा दुई घण्टाको दूरीमा रहेको जिल्ला अस्पताल जानुपर्ने अवस्थामा उनी मंगलबार बिहान एक्लै घरतर्फ हिँडिन्। प्रसूति व्यथा बढ्दै गएपछि दिउँसो करिब ३ बजे बाटोमै बच्चा जन्मियो। एकातिर स्वास्थ्य संस्थामा सुरक्षित प्रसूतिको अभियान, अर्कोतिर अन्धविश्वासका कारण स्वास्थ्य संस्थातर्फ जानै नसक्ने अवस्था-बाजुराको सुरक्षित मातृत्वको वास्तविक चित्र यही हो।

खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश ओलीका अनुसार कमलाले आठ महिनासम्म गुदुखाती स्वास्थ्य चौकीमा नियमित गर्भजाँच गराएकी थिइन्। “स्वास्थ्य संस्था पनि धेरै टाढा छैनन्, विगतको भन्दा अहिले चेतनास्तर वृद्धि भएको छ। यद्यपि घरमा वा बाटोमा बच्चा जन्मिने अवस्था घटेको छैन,” उनले भने। उनका अनुसार अब स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला सबैले हरेक गर्भवतीलाई सुरक्षित प्रसूतिको वातावरण बनाउन गम्भीरतापूर्वक काम गर्नुपर्ने अवस्था छ।

समस्या कमलामा मात्र सीमित छैन। प्राप्त विवरणअनुसार यस वर्ष असारयता मात्रै बाजुरामा कम्तीमा पाँच महिलाले बाटोमै शिशु जन्माएका छन्। साउन १० गते गौमूल गाउँपालिका–५ की २० वर्षीया कमला बुढाले सडक नहुँदा र लगातार वर्षाका कारण स्वास्थ्य संस्था पुग्न नसकेपछि बाटोमै बच्चा जन्माइन्। साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका–२ की २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा भएकै कारण ओडारमा छोरालाई जन्म दिइन्। साउन १८ गते सोही गाउँपालिका–३ की २४ वर्षीया अनिता महताराले स्ट्रेचरमा स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा बाटोमै बच्चा जन्माइन्।

बाजुरामा ग्रामीण बस्तीमा सडकको पहुँच विस्तार भएको भनिए पनि वर्षायाममा पहिरो र बाढीले सडक अवरुद्ध हुनु सामान्य बनेको छ। सडक खुलेका बेला पनि नियमित यातायात पाइँदैन। त्यसैले सुत्केरी व्यथा लागेपछि महिलालाई डोको, स्ट्रेचर वा बोकेर स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता अझै कायम छ। स्थानीय खगेन्द्र रावलका अनुसार सरकारले सुरक्षित प्रसूतिको कार्यक्रम सञ्चालन गरे पनि भौगोलिक विकटता र यातायात अभावले गर्भवतीले समयमा सेवा लिन सकिरहेका छैनन्।

स्वास्थ्य कार्यालयको तथ्यांकले समस्या अझ गम्भीर रहेको देखाउँछ। प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीका अनुसार गत वर्ष जिल्लामा १ हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ महिलाले घरमै शिशुलाई जन्म दिएका थिए। प्रसूतिको समय नजिकिँदासम्म घरमै बस्ने, व्यथा लागेपछि मात्रै स्वास्थ्य संस्था खोज्ने, स्वास्थ्य संस्था टाढा हुनु, सडक तथा यातायातको अभाव र जनचेतनाको कमीले जोखिम बढाइरहेको उनको भनाइ छ।

धामीका अनुसार घर वा बाटोमै प्रसूति हुने अवस्था अन्त्य गर्न स्वास्थ्यकर्मीको प्रयास मात्र पर्याप्त हुँदैन। गर्भावस्थामै नियमित स्वास्थ्य परीक्षण, प्रसूतिको केही समयअघि स्वास्थ्य संस्था पुग्ने व्यवस्था, आकस्मिक यातायातको पहुँच र सडक पूर्वाधार सुधारसँगै अन्धविश्वास र रूढीवादी मान्यता तोड्ने अभियान पनि आवश्यक छ।

बाजुराको प्रश्न अब स्वास्थ्य चौकी कति बने भन्ने होइन, गर्भवती महिला सुत्केरी हुने बेलामा सुरक्षित रूपमा त्यहाँ पुग्न सक्छिन् कि सक्दिनन् भन्ने हो। कार्यक्रम थप्ने, गोष्ठी गर्ने र सुरक्षित मातृत्वको नारा लगाउने क्रमसँगै बाटोमै बच्चा जन्माउने बाध्यता अन्त्य गर्न नसकिएसम्म सरकारी अभियानको प्रभावमाथि प्रश्न उठिरहनेछ। कमला बोगटीको बाटोमै जन्मिएको बच्चाले बाजुरालाई फेरि त्यही प्रश्न सोधेको छ-आमालाई अस्पताल पुर्‍याउने राज्यको व्यवस्था कहिले पुग्छ?