देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले देश विपत्तिमा रहेका बेला पार्टीले महाधिवेशनको जोड–घटाउभन्दा माथि उठेर जनताको उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
देविघाट, त्रिशूलीलगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सहभागी भई काठमाडौं फर्किएका महरले कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा १५औँ महाधिवेशन केही समय सार्नु उपयुक्त हुने धारणा राखेका हुन्।
उनका अनुसार भोटेकोसीलगायत देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। वर्षायामका कारण सडक तथा यातायातका मार्गसमेत अवरुद्ध रहेका बेला कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति महाधिवेशनको तयारीमा केन्द्रित गर्नुभन्दा विपत्तिमा परेका नागरिकको साथमा उभिनुपर्ने उनको भनाइ छ।
“आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ,” महरले भने, “यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।”
रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढी तथा पहिरोले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए। जनताको दुःखमा उपस्थित भएर मात्रै राजनीतिक दलले आफ्नो सामाजिक र राजनीतिक जिम्मेवारी प्रमाणित गर्न सक्ने उनको तर्क छ।
महरले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नुपर्ने नभई दसैँपछि सम्पन्न हुने गरी केही समय मिति सार्न सकिने प्रस्ताव अघि सारेका छन्। उनका अनुसार यसबाट एकातर्फ कांग्रेसलाई विपत्तिमा परेका नागरिकको उद्धार र पुनर्स्थापनामा प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भने अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्ने समयसमेत प्राप्त हुन्छ।
“महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो,” उनले भने, “हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ।”
कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको महरले बताए। पार्टीभित्रको विभाजनले जनतामाझ कांग्रेसप्रतिको विश्वास कमजोर पार्ने उनको भनाइ छ।
“आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ,” महरले भने, “देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरू व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ।”
उनले विपत्तिमा जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि मात्रै महाधिवेशन कांग्रेसको तत्कालीन प्राथमिकता हुनुपर्ने बताए।
महाधिवेशनको मिति केही समय सार्ने प्रस्तावलाई कमजोरीका रूपमा नभई पार्टीलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने महरको धारणा छ।
कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका २५ जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि शुक्रबार नेतृत्वको ध्यानाकर्षण गर्दै साझा अपिल सहित वक्तव्य जारी गरेका छन्।
महालक्ष्मी उपाध्याय (डिना), सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही लगायत २५ जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गरिएको छ।
यस्तो छ अपिल







प्रतिकृया दिनुहोस्