September 11, 2026, Friday
२०८३ भाद्र २६

गगनको दाबी : कांग्रेसको १५औँ महाधिवेशन एक घण्टा पनि सर्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन घोषित मितिमै हुने स्पष्ट पारेका छन्। महाधिवेशन सर्ने हो कि भन्ने आशंका र पार्टीभित्रको अन्योललाई चिर्दै थापाले असोज १६ गतेदेखि सुरु हुने महाधिवेशन एक घण्टा पनि पछि नधकेलिने बताएका हुन्।

शुक्रबार काठमाडौंमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा थापाले संविधान, कांग्रेसको विधान र अदालतको फैसलाले पार्टीलाई निर्धारित प्रक्रियाबाट पछि हट्ने छुट नदिएको बताए।

‘संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। त्यसैले महाधिवेशन एक घण्टा पनि सर्दैन, घोषित मितिमै हुन्छ,’ उनले भने।

थापाका अनुसार कांग्रेसको तल्लो तहको अधिवेशन प्रक्रिया असोज ४ गतेदेखि सुरु हुनेछ भने केन्द्रीय महाधिवेशन असोज १६ गतेदेखि प्रारम्भ हुनेछ। उनले महाधिवेशनमा सहभागी हुनबाट कुनै पनि नेता–कार्यकर्ता वञ्चित नगरिएको दाबी गर्दै सबैलाई प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरे।

‘कोही साथीलाई महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित गरिएको छैन। सबै साथीहरू महाधिवेशनमा सहभागी हुनुहुन्छ र प्रतिस्पर्धा हुन्छ,’ थापाले भने।

उनले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नगरी पार्टीभित्रको विभाजन र असमझदारी अन्त्य गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। प्रतिस्पर्धाबाट नेतृत्वमा आउने र जिम्मेवारी नपाउने दुवै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ।

तर थापाले कांग्रेसको वास्तविक चुनौती पार्टीभित्रको प्रतिस्पर्धा नभई नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्नु रहेको बताए। महाधिवेशनले आन्तरिक विषय व्यवस्थापन गरे पनि जनतासँगको दूरी घटाउन नयाँ राजनीतिक अभियान आवश्यक रहेको उनले औँल्याए।

‘अधिवेशनले त अहिले पार्टीभित्रको कुरा मात्रै मिलाउँछ। नागरिकसँगको विश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ। त्यो पुनःस्थापित गर्ने यात्रामा हामी निस्कन्छौँ,’ उनले भने।

उनका अनुसार महाधिवेशन र दसैँलगत्तै कांग्रेस देशव्यापी अभियानमा जानेछ। नयाँ नेतृत्व बनेपछि ७७ वटै जिल्लामा पुगेर गाउँ–गाउँका नागरिकसँग संवाद गर्ने र उनीहरूका गुनासा सुन्ने कांग्रेसको योजना रहेको थापाले बताए।

‘महाधिवेशन सम्पन्न गर्नासाथै हामी देशभरि जानुपर्नेछ। ७७ जिल्ला पुग्छौँ, गाउँगाउँ जान्छौँ,’ उनले भने।

थापाले कांग्रेसको आगामी कार्यदिशा नागरिकको घरदैलोमा पुगेर उनीहरूको असन्तुष्टि र अपेक्षा सुन्ने तथा त्यसकै आधारमा पार्टीलाई पुनःसशक्त बनाउने रहेको बताए। आन्तरिक विवादमै अल्झिरहँदा नागरिकसँगको सम्बन्ध थप कमजोर हुने भन्दै उनले पार्टीले अब आफ्नो ध्यान जनतातर्फ केन्द्रित गर्नुपर्ने बताए।

यसैबीच, थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप पनि लगाएका छन्। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट रूपमा सकारात्मक नदेखाएको उनको टिप्पणी छ।

देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा सरकारले स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भन्दै थापाले सरकारी उद्योग सञ्चालनको बहसलाई पनि समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए।

दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडजस्ता सरकारी उद्योग सञ्चालनमा आउनुपर्ने भए पनि त्यसलाई राज्यको समग्र आर्थिक नीतिभन्दा अलग राखेर हेर्न नहुने उनको भनाइ छ। सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्दै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्नुपर्ने उनले बताए।

२०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै थापाले प्रधानमन्त्रीको आर्थिक दृष्टिकोणले नै मुलुकको गन्तव्य निर्धारण गर्ने बताए।

‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। यो मेरो आफ्नो बुझाइमा मात्र हैन, हि हेट्स प्राइभेट सेक्टर,’ थापाले भने।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयहरूबाट आफू यस्तो निष्कर्षमा पुगेको उनले बताए। सरकारी उद्योग सञ्चालनको पक्षमा बोल्दा पनि राज्यले समग्र अर्थतन्त्र, लगानीको वातावरण र निजी क्षेत्रको भूमिकालाई बेवास्ता गर्न नहुने थापाको तर्क छ।

‘दुग्ध विकास संस्थान, हेटौँडा कारखाना र नेपाल औषधि लिमिटेड चलून्, मुनाफा कमाउन् भन्ने मेरो शुभेच्छा छ,’ उनले भने, ‘तर स्टेट चलाउने मान्छेले आजको दिनमा इकोनोमी कस्तो छ भनेर हेर्नुपर्छ।’