September 2, 2026, Wednesday
२०८३ भाद्र १७

शिखर नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि २२ लाख सहयोग

दिपायल । डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बुधबार बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधि तथा नगरपालिका मातहतका कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरूको भदौ महिनाको खाइपाइ आएको तलबबाट उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नगरप्रमुख दीर्घबहादुर बलायरका अनुसार नगरपालिकाले बाढीमा बेपत्ता नागरिकको सकुशल उद्धार, घाइतेको उपचार तथा पीडित परिवारको पुनःस्थापनाका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

शिखर नगरपालिकाले यसअघि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। कार्यपालिकाको बैठकले सहयोग रकम बढाएर २२ लाख रुपैयाँ पुर्‍याएको हो।

यस्तै, बाढीपछि सम्पर्कविहीन भएका शिखर नगरपालिका–४ का दीपक महराको खोज तथा उद्धारका लागि परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ।