September 11, 2026, Friday
२०८३ भाद्र २६

हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो

धनगढी । धनगढी उपमहानगरपालिका–१४, १८ र १९ अन्तर्गत हुलाकी सडकको मध्यभागमा जडान गरिएका हाइमास्ट लाइटका पोल तथा वरिपरि लगाइएका तारजाली दुर्घटनाको जोखिम बन्दै गएका छन्।

सडकको बीचमा रहेका पोल, तारजाली तथा अन्य संरचनामा सवारीसाधन ठोक्किने घटना बढ्दै गएको स्थानीयको भनाइ छ। विशेषगरी रातिको समयमा हाइमास्ट लाइट नियमित नबल्ने र सडकको मध्यभागमा रहेका संरचना स्पष्ट देखिने गरी पर्याप्त रिफ्लेक्टर तथा चेतावनी संकेत नहुँदा दुर्घटनाको जोखिम थप बढेको उनीहरू बताउँछन्।

स्थानीय प्रकाश मल्लका अनुसार हाइमास्ट लाइटमा नियमित रूपमा बत्ती नबल्दा रातिको समयमा सडकको बीचमा रहेका पोल तथा तारजाली स्पष्ट देख्न कठिन हुने गरेको छ।

‘रातिको समयमा बत्ती नबल्दा सडकको बीचमा रहेका संरचना देख्न गाह्रो हुन्छ। दुर्घटना भएपछि क्षति व्यवस्थापन गर्नुभन्दा दुर्घटना हुनुअघि नै जोखिम पहिचान गरेर संरचना सुधार गर्न आवश्यक छ,’ मल्लले भने।

स्थानीय धर्म पडालले पनि सडकको मध्यभागमा राखिएका पोल र तारजालीका कारण सवारीसाधन दुर्घटनाको जोखिम बढेको बताए। उनका अनुसार जोखिमयुक्त संरचनालाई व्यवस्थित गर्दै आवश्यक सुरक्षा उपाय तत्काल अपनाउनुपर्ने आवश्यकता छ।

‘सडकको बीचमा रहेका पोल र तारजालीका कारण सवारीसाधनलाई समस्या भइरहेको छ। दुर्घटनाको जोखिम रहेका यस्ता संरचना व्यवस्थित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ पडालले भने।

स्थानीयका अनुसार हाइमास्ट लाइटका पोल तथा तारजालीमा सवारीसाधन ठोक्किँदा चालक तथा यात्रु घाइते हुने गरेका छन्। दुर्घटनाबाट संरचनामा क्षति पुगेपछि क्षतिपूर्ति असुल्न नगर प्रहरी पुग्ने गरे पनि दुर्घटना न्यूनीकरणका लागि पूर्वतयारी र संरचना व्यवस्थापनमा भने पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ।

हुलाकी सडकअन्तर्गत धनगढी–१४ को स्याउले बजार क्षेत्रलाई स्थानीयले दुर्घटनाका दृष्टिले थप संवेदनशील क्षेत्रका रूपमा औंल्याएका छन्। बजार क्षेत्रमा हुने चहलपहल र सडकको मध्यभागमा रहेका संरचनाका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको उनीहरू बताउँछन्।

स्थानीयका अनुसार सडकको मध्यभागमा रहेका संरचनामा पर्याप्त प्रकाश, रिफ्लेक्टर तथा चेतावनी संकेतको व्यवस्था गर्न आवश्यक छ। सडकमा जोखिम सिर्जना गर्ने संरचनाको नियमित निरीक्षण र व्यवस्थापनसमेत हुनुपर्ने उनीहरूको माग छ।

दुर्घटनाको जोखिम न्यूनीकरणका लागि धनगढी उपमहानगरपालिका, सम्बन्धित वडा कार्यालय, सडकसम्बन्धी निकाय र ट्राफिक प्रहरीले संयुक्त रूपमा जोखिमयुक्त स्थान पहिचान गरी आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने देखिन्छ।

दुर्घटना भएपछि क्षतिपूर्ति असुल्नेभन्दा दुर्घटना नै हुन नदिने गरी पूर्वतयारी, पर्याप्त प्रकाश, रिफ्लेक्टर, चेतावनी संकेत र संरचनाको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।