April 17, 2026, Friday
२०८३ बैशाख ४

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

कञ्चनपुर पुस ३(ई–रैवार)
‘नेपाल भ्रमण वर्ष २०२०’का अवसरमा शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय पर्यटकका लागि खुला गरिने भएको छ । आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकका लागि सङ्ग्रहालय खुला रहने जनाईएको छ ।
थारु संस्कृतीको एकिकृत झलकका रुपमा निर्माण गरिएको सङ्ग्रहालयका परम्परागत शैलीका घरहरु निर्माण गरी राखिएको छ । सङ्ग्रालयमा पर्यटकको सुविधाका लागि सोलार बत्ती र शौचालय समेत निर्माण गरिएको छ ।
सङ्ग्रहालयमा थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासंग सम्बन्धित वस्तु राख्ने कार्य पनि चलिरहेको छ ।
‘१२ वटा थारुगाउँका वडघरलाई जिम्मा दिएर सङ्ग्रहालय निर्माण भईरहेको छ,’ तदर्थ समितिका सचिव भागीराम चौधरीले भने,‘भ्रमण वर्ष शुरु हुनुअगावै सबै सामग्रीको व्यवस्था गरी सङ्ग्रहालयमा राख्छौ ।’ थारु समुदायको नयाँ वर्ष अर्थाद माघीदेखि सङ्ग्रहालयको उद्घाटन गर्ने योजना रहेको उनले सुनाए ।
सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिने छन् । यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्की लगायतका सामानको जोहो गर्नका लागि थारु समुदायका अगुवालाई परिचालन गरिएको छ ।
‘लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिने छ,’ चौधरीले भने,
यसबाहेक महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, बिच्छयालगायत राख्नका लागि थारु समुदायलाई दान गर्न भनेका छौ ।’
गहना र अन्य सामान सङ्कलनको कार्य शुरु गरिएको उनले बताए । थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छासमेत सङ्ग्रहालयमा राख्नका लागि व्यवस्था गरिएको छ ।

‘परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणका लागि सामग्री जुटाउन थालेका छौ’, थारु सङ्ग्रहालय तदर्थ समितिका अध्यक्ष पल्टा चौधरीले भने,‘हराउँदै गएको थारु संस्कृति र सामग्री हेर्न नपाएकाका लागि सङ्ग्रहालयमा सामग्रीको जोहो गर्छांै ।’