कञ्चनपुरमा अनुमति बिना प्रवेश गरेका दुई भारतीय प्रहरी नियन्त्रणमा

कञ्चनपुर । नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो कर्नाटकबाट आएका भारतीय प्रहरीका असईसहित दुई जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।
उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए। नेपाल प्रहरीसँग समन्वय तथा पूर्वजानकारीबिना नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको सूचना पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले दुवै जनालाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नियन्त्रणमा राखिएको पुष्टि गरे।
उनका अनुसार घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ। माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीसँग समन्वय र पूर्वजानकारीबिना नेपाली भूमिमा प्रवेश गर्नेमा कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस रहेका छन्।





प्रतिकृया दिनुहोस्