August 29, 2026, Saturday
२०८३ भाद्र १३

नवजीवन अस्पतालद्वारा रसुवा बाढीपीडितका लागि २ लाख २२ हजार सहयोग

धनगढी। धनगढीस्थित नवजीवन अस्पताल प्रा.लि.ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको राहतका लागि उक्त रकम सहयोग गरिएको हो। उनका अनुसार रकम बुधबार कोषमा जम्मा गरिएको थियो।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा सहयोग जुटिरहेका बेला नवजीवन अस्पतालले पनि मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको हो।

अस्पतालले विपद्को यस कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।

अस्पतालले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेको छ। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बाढीपछि सम्पर्कविहीन रहेका नागरिक सकुशल फेला पर्ने आशासमेत व्यक्त गरेको छ।

सम्पर्कविहीन नागरिकको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गर्दै अस्पतालले विपद्का समयमा सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको अस्पतालको भनाइ छ।