नेपाल एले आज एसीटी कोमेट्ससँग खेल्दै

काठमाडौं : अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल एले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग खेल्दैछ।
नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुने खेलमा नेपाल ए चौथो खेलमा मैदान उत्रिन लागेको हो। यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन्।
यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन्।
सुरुवाती दुई खेलमा पराजित नेपाल एले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।
यता एसीटी कोमेट्सले भने तीन खेल खेल्दा कुनै जित निकाल्न सकेको छैन। एसीटी किङ्समेन, भिक्टोरिया सीए–११ र एनटी स्ट्राइकसँग पराजित भएको थियो।
मुख्य प्रथम श्रेणीको ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा सहभागी नभए पनि एसीटीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी तथा राष्ट्रिय विकासमूलक प्रतियोगितामा बलियो उपस्थिति जनाउँदै आएको छ।





प्रतिकृया दिनुहोस्