July 21, 2026, Tuesday
२०८३ श्रावण ५

च्याउ खोज्न जाँदा निकुञ्जमा बेपत्ता भएका १४ जना महिला आए सम्पर्कमा

कञ्चनपुर : च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका १४ जना महिला सम्पर्कमा आएका छन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले भीमदत्त नगरपालिका-१९, बागफाँटाका १४ जना महिला सम्पर्कमा आएको जानकारी दिएका हुन ।

आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहानैदेखि उनीहरूको खोजी गरिरहेको थियो । खोजीकै क्रममा उनीहरू सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताए।

‘सबैजना समूहमै बस्नुभएको रहेछ। बेलुकी पानी परेपछि बाटो भुल्नुभएको थियो, ’ उनले भने, ‘आज बिहानै सबै खोजीमा लागेका थियौं । उहाँहरू पनि बाटो पछ्याउँदै आउनु भयो ।’

जंगलमा गएका १४ जनामध्ये कसैले पनि मोबाइल नलगेकाले उहाँहरूसँग सम्पर्क हुन सकेको थिएन। उनीहरूको खोजीमा ड्रोन पनि प्रयोग गरिएको थियो। जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक परे हेलिकप्टरसमेत प्रयोग गर्ने विषयमा निर्णय गरिसकेको उनले बताए ।

तर, उनीहरू सम्पर्कमा आइसकेपछि अब निकुञ्जभित्र यसरी प्रवेश नगर्न सम्झाइएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।