July 21, 2026, Tuesday
२०८३ श्रावण ५

निकुञ्जभित्र च्याउ खोज्न गएका १७ मध्ये तीन जना सकुशल फेला, १४ जना अझै सम्पर्कविहीन

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ।

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासको जङ्गलमा च्याउ खोज्न भनी गएर सम्पर्कविहीन भएका १७ जनाको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ । हराएकामध्ये बेलडाँडीका तीन महिलासँग सोमबार बिहान टेलिफोन सम्पर्क भएको प्रहरीले जनाएको थियो ।

भीमदत्त नगरपालिका–१९ बागफाँटा दशरथटोलका १४ जना आइतबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका थिए । अबेरसम्म उनीहरू सम्पर्कमा नआएपछि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले रातिदेखि नै खोजी अभियान सुरु गरेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ।

तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए।

रणसिंह दल गणका अनुसार सम्पर्कविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ।

बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिए।

बेलडाँडीबाट नेपाल प्रहरीको टोली, रणसिंह दल गण (क) गुल्म बेलडाँडीबाट नेपाली सेनाको टोली तथा स्थानीयवासी संयुक्त रूपमा उद्धार अभियानमा खटिएका छन् । निकुञ्ज क्षेत्रभित्र कुनै–कुनै ठाउँमा मात्रै मोबाइल नेटवर्क आउने हुनाले पनि खोजीकार्य जटिल बनेको छ ।

प्रहरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रमा वर्षायाममा कुनै पनि उद्देश्यले नजान, अन्य सामुदायिक वनमा जाँदा समूहबाट नछुट्टिन, पर्याप्त तयारीबिना जङ्गल प्रवेश नगर्न तथा सम्भव भएसम्म सुरक्षा निकाय वा वन कार्यालयको जानकारीमा मात्रै जङ्गल जान आग्रह गरेको छ ।