September 19, 2025, Friday
२०८२ आश्विन ३

रवि लामिछानेविरुद्ध मुद्दा चलेका कुनै अदालत जोगिएन ?

काठमाडौं : यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा देशभरका २३ अदालत जलाइएको छ । सर्वोच्च र विशेषसहित सात उच्च र १४ जिल्ला अदालत जलाइएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

“सर्वोच्च भइहाल्यो, विशेष अदालत, सातवटा उच्च अदालत र १४ वटा जिल्ला अदालतमा आगजनी र तोडफोड गरिएको प्रारम्भिक जानकारी आएको छ,” प्रवक्ता कोइरालाले भने, “कुन अदालतमा के कति क्षति भएको छ भन्ने डिटेल जानकारी आइसकेको छैन ।”

सम्बन्धित अदालतबाट क्षति यकिन गर्ने कार्य जारी रहेको उनले जानकारी दिए । केही दिनपछि विस्तृत जानकारी दिन सकिने उनले बताए ।

आगजनी गरिएका मध्ये सर्वोच्चका अधिकांश मिसिल, अभिलेख, इजलास र सर्भर समेत जलाएर भवन नै जीर्ण पारिएको छ । भूकम्पमा जीर्ण बनेपछि रेट्रोफिटिङ गरिएको सर्वोच्चको मूल भवन पुनः प्रयोग नहुन सक्ने प्रारम्भिक आकलन छ ।

विशेष अदालतका दुवै भवनमा आगजनी गरिँदा धेरै क्षति भए पनि मिसिल जोगिएको छ । कम्प्युटर हराएको छ । कुर्सी, टेबल, झ्यालढोका तोडिएको छ । झ्यालढोका फोडिएकाले मिसिल हराए/नहराएको यकिन भइसकेको छैन ।

“विशेष अदालतमा धेरै ठूलो क्षति भएको छ । झ्यालढोका तोडफोड गरिएको छ । कुर्सी, टेबल जलाइएका छन् । कम्प्युटरहरू तोडफोड भएका छन् र हराएका पनि छन्,” विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने, “मिसिलहरू आगोले जल्नबाट जोगिएका छन् । तर, हराएका छन् वा सबै भेटिन्छन् भनेर यकिन भइसकेको छैन ।”

पहिलो चरणमा मिसिल हराए/नहराएको यकिन गरिनेछ । त्यसपछि कति सम्पत्ति क्षति भयो भनेर ‘कोडिङ’अनुसार रुजु गरिने उनले बताए ।

काठमाडौं जिल्ला अदालतमा ठूला र पुराना मुद्दासहित अभिलेख नष्ट गर्ने उद्देश्यले आगजनी गरिएको पाइएको अधिवक्ता तीर्थ सुवेदीले आरोप लगाए । अभिलेख सुरक्षित हुने गरी अलग्गै राख्न आफूहरूले सुझाव दिँदै आएको उनले बताए । त्यसो नगरिँदा आगजनीमा सबै अभिलेख नष्ट भएको उनले उल्लेख गरे ।

काठमाडौं अदालतको अभिलेख शाखा तथा फाँट नम्बर ९, १३ र २० पूरै नष्ट भएको छ । ६ वटा इजलास जलाएर ध्वस्त पारिएको छ । फाँट नम्बर ९ र १३ मा पुराना र ठूला मुद्दाका मिसिल थिए । फाँट नम्बर २० मा जेनरल मुद्दाका मिसिल थिए । अरू फाँटमा पनि आगो लगाइएको छ । तर, त्यहाँ केही मिसिल जोगिएका छन् ।

“राय किताबहरू कति जले र कति हराए अहिले नै भन्न सकिने अवस्था छैन,” काठमाडौं अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले भने, “क्षतिको विवरण संकलन गरिरहेका छौँ ।”

काठमाडौं उपत्यकाबाहिर उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको राजविराज इजलास, उच्च अदालत पाटनको हेटौँडा इजलास, उच्च अदालत पोखरा, उच्च अदालत तुलसीपुर, उच्च अदालत तुलसीपुरको बुटवल इजलास र उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा आगजनी गरिएको छ ।

जिल्लातर्फ काठमाडौंसहित मोरङ, सप्तरी, सिरहा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली अदालतमा आगजनी गरिएको छ । सबै अदालतमा क्षतिको विवरण संकलनको कार्य गरिँदै छ ।

रवि लामिछानेविरुद्ध मुद्दा चलाइएको कुनै अदालत जोगिएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसहितका मुद्दा चलाइएका अदालत सबै जलाइएको छ ।  जिल्ला, उच्च र सर्वोच्चसहित उनीविरुद्ध मुद्दा चलाइएका सबै अदालत जलेर ध्वस्त भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा सुरुमा चलाइएको कास्की जिल्लासँगै पुनरावेदन गरिएको उच्च अदालत पोखरामा समेत आगजनी भएको छ । लामिछानेलाई एक करोड रुपैयाँ धरौटीको आदेश गरेको रुपन्देही जिल्ला र त्यसविरुद्धको निवेदनमा पुर्पक्षका निम्ति थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पनि आगजनी गरिएको छ ।

लामिछानेविरुद्ध धरौटीको आदेश गरेको काठमाडौं जिल्ला अदालत पनि जलाइएको छ ।  उनीविरुद्ध मुद्दा चलाइएको चितवन जिल्ला अदालतमा पनि आगो लगाइएको छ ।

ठूलो संख्यामा रास्वपाका कार्यकर्ताको अगुवाइमा लामिछानेलाई नक्खु कारागारबाट निकालिएको थियो । गाडीमा चढाएर आन्दोलनकारीलाई अभिवादन गर्दै उनलाई घर पुर्‍याइएको थियो ।

लामिछानेलाई निकालिएको विषयमा असहमति राख्दै जेनजीले आलोचना गरेका थिए । त्यसपछि लामिछानेले जेल प्रशासनले दिएको भन्दै एउटा पत्र सार्वजनिक गरेका थिए ।

उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका निम्ति थुनामा राख्ने आदेश भएको थियो । तर, जेल प्रशासनले दिएको भन्दै सार्वजनिक गरिएको पत्रमा उनलाई राजनीतिक मुद्दामा थुनामा राखिएको उल्लेख छ ।

त्यसबाहेक सर्वोच्चबाट समेत सदर भइसकेको उच्च अदालत बुटवल इजलासको आदेशको थुनालाई गृहसचिवस्तरीय निर्णयबाट उल्टाइएको भन्ने व्यहोरा पत्रमा छ । पत्रमा नक्खु कारागारका प्रशासक सत्यराज जोशीको हस्ताक्षर देखिन्छ । तर, पत्रमा चलानी नम्बर राखिएको छैन । पत्र संख्याको ठाउँमा ०८२/०८३ लेखिएको छ । पत्र दिइएको मिति भदौ २४ गतेमा पनि केरमेट गरिएको छ ।

उक्त पत्र लामिछानेनजिकका व्यक्तिले लेखेका स्रोतको दाबी छ । उनले नै पत्रमा प्रश्न उठाउन सक्ने गरी त्रुटिपूर्ण व्यहोरा लेखेका आरोप रास्वपाभित्र छ । उक्त पत्र वास्तविक नभएको जेल प्रशासनले पुष्टि गरिसकेको छ । बाह्रखरीबाट