प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि आगामी बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।
बिहीबार सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती तथा सुरुङमा फसेका श्रमिकहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसदहरूले ‘ग्रीन आर्मी’को वैधानिकतालगायत समसामयिक विषयमा समेत सरकारसँग जवाफ मागेका थिए।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल–भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता पेस गरेका थिए।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरेकी थिइन्।





प्रतिकृया दिनुहोस्