भोटेकोशी बाढी : मृतक र बेपत्ताको पहिचान गर्न डीएनए परीक्षण तीव्र

काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएका तथा बेपत्ता नागरिकको पहिचानका लागि डीएनए प्रोफाइलिङ तीव्र पारिएको छ। गलेका र क्षतविक्षत शव परम्परागत विधिबाट पहिचान गर्न कठिन भएपछि नेपाल प्रहरी र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षणलाई मुख्य आधार बनाएका हुन्।
नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। तीमध्ये ८९७ शवको डीएनए नमुना सङ्कलन गरी सुरक्षित रूपमा गाडिएको छ। आफन्तको पहिचान हुन नसकेका शवको डीएनए नमुना पछि आफन्तसँग भिडाएर सनाखत गरिनेछ।
फरेन्सिक विज्ञका अनुसार गलेका शवबाट रगतको नमुना लिन नसकिने अवस्थामा दाँत र तिघ्राको हड्डीबाट डीएनए निकालिन्छ। मृतकको पहिचानका लागि प्राथमिकतामा बुवा, आमा, छोरा वा छोरीको नमुना लिइन्छ। उनीहरू उपलब्ध नभए सहोदर दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरिन्छ।
काठमाडौँमा नेपाल प्रहरी अस्पताल तथा महाराजगञ्जस्थित प्याथोलोजी ल्याब र उपत्यकाबाहिर जिल्ला प्रहरी कार्यालयमार्फत आफन्तको नमुना सङ्कलन भइरहेको छ। विदेशमा रहेका आफन्तले सम्बन्धित देशको आधिकारिक फरेन्सिक ल्याबबाट तयार डीएनए प्रोफाइल नेपाल प्रहरीलाई डिजिटल रूपमा पठाउन सक्ने व्यवस्था गरिएको छ।
सामान्य अवस्थामा डीएनए परीक्षणको नतिजा ३ देखि १० दिनमा आउने भए पनि सामूहिक विपद्का कारण ठूलो संख्यामा नमुना परीक्षण गर्नुपर्ने भएकाले सबै बेपत्ता परिवारको एकीकृत डीएनए डाटाबेस तयार गर्न करिब तीन महिना लाग्ने अनुमान गरिएको छ।
फरेन्सिक विज्ञका अनुसार माटो र पानीका कारण डीएनए बिग्रिने जोखिम, सीमित जनशक्ति तथा परीक्षण सामग्रीका कारण अहिले प्रयोगशालामा ठूलो दबाब छ। यस्तो अवस्थामा मृतकको पहिचानका लागि डीएनए परीक्षण नै सबैभन्दा भरपर्दो वैज्ञानिक आधार बनेको छ।





प्रतिकृया दिनुहोस्