September 18, 2025, Thursday
२०८२ आश्विन ३

जेन-जीसँग जोडिएको नेपालको राजनीति: दिनभर के के भयो ?

काठमाडौं : बिहीबार दिन भर जेन-जीको माग सम्बोधन गर्ने विषयमा नै केन्द्रित भएर नेपालको राजनीतिक गतिविध अघि बढ्यो ।  

जेन-जीका आधिकारिक प्रतिनिधि आज देखिए । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो एजेन्डाहरू जेन-जीले प्रस्तुत गरे । जसमा संविधान अनुसार नै अघि बढ्ने निष्कर्ष उनीहरूले सुनाए । यही निष्कर्षपछि राजनीतिक दलका दोस्रो तहका पुस्ता पनि जुर्मुराए । भर्जुअल बैठक गरेर जेन-जीका माग पूरा गर्ने निष्कर्ष पनि उनीहरूले सुनाए ।  

आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच निर्णायक निकास निकाल्ने अपेक्षा गरिएको त्रिपक्षीय वार्ता स्थगित भयो । वार्तास्थलमा दुर्गा प्रसाईँको प्रवेशसँगै वार्ता स्थगित भएको हो। यस अघि जेन–जी समूहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एकमत भएसँगै त्रिपक्षीय वार्ता  सुरु भएको थियो।  

तर दुर्गा प्रसाईको इन्ट्रीले जेन जी असन्तुष्ट हुँदा वार्ता स्थगित भयो । विकसित परिस्थिति अनुसार भोलि फेरि वार्ता अघि बढ्ला ।

जेन जीहरू भने आज दिनभर तनावमा देखिए । आधिकारिक को भन्ने विषयमा घम्साघम्सी नै भएपछि स्थिति नियन्त्रणमा लिन सेना नै अघि बढ्नुपरेको थियो ।  

यतिमात्र होइन नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीले पनि अब यो विषम परिस्थितिबाट बाहिर निस्कन आवश्यक रहेको उल्लेख गर्दै प्राप्त उपलब्धि रक्षाको विषय उठाए ।  

अर्कातिर जेन-जीले आफ्नो मुद्दामा राजावादीको हालिमुहाली बढेको भन्दै गुनासो गरे । प्रधानसेनापतिले दुरगा प्रसाईंलाई आन्दोलनको स्टेकहोल्डर भनेपछि स्थितिले अर्को रुप लियो ।  

यत्तिमात्र होइन राजावादीले बुस्ट गरेरै उपल्बधी आफ्नो भनेर प्रचार गरेको आरोप लागेको छ ।  

यता देशभर भएको आगजनीले ठूलो भौतिक क्षति भएको छ । जे भए पनि अब हाम्रा प्रशासनीक केन्द्र ढलेका छन् । अब जसले राज्यको बागडोर सम्हाले पनि कहाँ बसेर काम गर्ने भन्ने अन्यौलता बढेको छ ।  

नागरिकले सभामुख राष्ट्रपतिको भूमिका खोजेका छन् । प्रधानमन्त्रीले राजीनामा दिएपछि नेतृत्वविहीन भएको राष्ट्र कसरी अघि बढला त्यो चिन्ता र चासोको विषय बनेको छ।  

सँगै बाटोमा बाक्लो संख्यामा उपस्थित सेना र सेनाको भूमिका बारे बेग्ला बेग्लै टिप्पणी हुने गरेको छ ।  

तर यही अवस्थामा राजनीति दल सच्चिएर आएने सम्भावना पनि देखिएको छ । अब राजनीतिक दल र दलका नेताले आफ्नो दम्भ त्यागेर जनताको पक्षमा काम गर्छन भन्ने अपेक्षा पनि बढेको छ ।  

शीर्ष नेताले जन आक्रोश के रहेछ भन्ने बुझ्नुपर्छ । जनताले दिएको मतको सही प्रयोग भएन भने जनताले नै कारबाही कसरी गर्न सक्छन् भन्ने ज्ञान यो घटनाले दियो । यो घाउको खाटो बस्न त समय लाग्ला तर राजनीति कमाउन भाँडो होइन समाजसेवा हो भन्ने सन्देश सिकाएर गएको छ।

आशा गरौँ अब निर्णायक वार्ता हुन्छ । नेपालीले चाहे अनुसारको कार्यपरिषद बन्नेछ । अनि नेपाल फेरि हाँस्नेछ ।

नागरिकबाट