विवाहको भोज खान गएका युवकको मुसल प्रहार गरी हत्या, तीन जना पक्राउ

धनगढी । विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बाजुरामाको बुढीगंगा नगरपालिका ८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप गिरीका अनुसार थापा बूढीगंगा नगरपालिका ९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको उनले बताएका छन्।
पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका ७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको प्रहरी नायब उपरीक्षक डीएसपी गिरीले जानकारी दिए ।
खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । विहेको भोजमा मादक पदार्थ सेवन गरेर ‘आफूलाई सबै केटाहरुले दाई भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको डीएसपी गिरीले जानकारी दिए ।
सोही क्रममा थापामाथि कुटपिट भएको थियो । बिहीबार राती बिहे भोजमा झडप हुँदा थापामाथि मुसल (ओखलमा धान कुट्ने मुसल) प्रहार गरिएको थियो । मुसल प्रहारबाट गम्भीर घाइते भएका थापाको अछामको बायलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्