May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध : आज भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

धनगढी । बभाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोका कारण छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको हो ।

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेस, प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।