सुदूरपश्चिम प्रदेशका अस्पतालहरूमा अक्सिजनको अभाव

धनगढी, वैशाख १४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएका बेला कोभिडका बिरामीको उपचारमा नभइ नहुने अक्सिजनको अभाव हुने संकेत देखिएको छ । प्रदेशको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा आफ्नै अक्सिजन उत्पादन प्लान्ट भए पनि अक्सिजन आवश्यक पर्ने श्वासप्रश्वासका बिरामीको चाप बढे अहिलेको उत्पादन क्षमताले धान्न कठिन हुने देखिएको छ ।
प्रदेशमा सेती र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजन उत्पादन गर्ने युनिट जडान गरिएको छ । कोभिड–१९ को उपचारमा अक्सिजन थेरापी अनिवार्य हुनेमा चिकित्सकहरूले एक वर्षदेखि जोड दिँदै आएका छन् । तर, प्रदेशका सरकारी अस्पतालहरूको अक्सिजन उत्पादन क्षमता निकै कमजोर रहेको पाइएको छ ।
नेपालसँग सीमा जोडिएका भारतको उत्तरप्रदेश र उत्तराखण्ड आसपासका क्षेत्रमा बढेको कोभिड–१९ महामारीबीच अक्सिजन अभाव भएको खबरले सुदूरपश्चिमवासीसमेत चिन्तित भएका छन् । सुदूरपश्चिम प्रदेशमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन उकालो लागेसँगै उपचारको प्रभावकारी साधन अक्सिजनको उपलब्धताबारे चासो व्यक्त गरिएको छ । प्रदेशको एक मात्र रेफरल अस्पताल सेतीमा समेत कोरोनाको बिरामी ह्वात्तै बढे अहिलेको अक्सिजनको आपूर्तिले धान्न कठिन हुने बताइएको छ । ‘सेती प्रादेशिक अस्पतालका अक्सिजन जेनेरेट गरिन्छ । अहिले दैनिक ४७ लिटरका १२ सिलिण्डर उत्पादन भइरहेको छ । अक्सिजनको सप्लाई पाइपबाट १५० बेडमा समेत गरिएको छ’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भन्नुभयो, ‘अहिले अस्पताल अक्सिजनमा आत्म निर्भर भए पनि कोभिडको बिरामी बढेमा भने समस्या हुन सक्छ ।’ धनगढीको सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा सीमित मात्रामा अक्सिजन उत्पादन हुने गरिएको भए पनि प्रदेशका अन्य अस्पतालहरूमा भने अक्सिजनको आपूर्ति बाहिरबाट गर्नुपर्ने बाध्यता रहेको अधिकारीहरूले जनाएका छन् ।
सुदूरपश्चिमको धनगढीमा निजीस्तरमा मालिका अक्सिजन उद्योग सञ्चालनमा रहेको छ । त्यो उद्योगले दैनिक १५० देखि दुई सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने गरेकोे उद्योगका व्यवस्थापक नरेश शाही बताउनुहुन्छ । ‘सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा हाम्रो कम्पनीको डिलरहरू छन् । पहाडी जिल्लाको अस्पतालमा पनि लग्ने गरेका छन्’ उहाँले भन्नुभयो, ‘केही दिनदेखि अक्सिजनको माग बढेको छ । तर, हाम्रो अधिकतम उत्पादन क्षमता भने दैनिक दुई सय सिलिण्डर हो ।’ प्रदेशका अस्पतालहरूको माग धनगढीको उद्योगले मात्रै नधान्ने भएकाले नेपालगञ्जबाट समेत आयात गरिँदै आएको उहाँ बताउनुहुन्छ ।
प्रदेश सरकारले पहाडी जिल्लाका अस्पतालहरूमा अक्सिजन प्लान्ट खरिद गरेर जडान गरेको भने पनि सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छैन । जडान भएका अस्पतालमा पनि त्यो युनिटबाट दुईजनाका लागि मात्रै अक्सिजन उत्पादन हुने गरेको बताइएको छ ।
सेतीपछि डडेल्धुरा अस्पतालमा अक्सिजन उत्पादन युनिट रहेको तर त्यसको क्षमता पनि निकै थोरै रहेको बताइएको छ । ‘डडेल्धुरा अस्पतालले पहाडी जिल्लाका अन्य अस्पतालको मागसमेत पूरा गरिरहेको छ । तर, कोभिडको बिरामीको संख्या अस्पतालमा बढेको अवस्थामा भने अन्य अस्पताललाई अक्सिजन दिन सकिन्न होला’ अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा सेती प्रदेशिक अस्पतालमा मासिक ३६० सिलिण्डर, मालिका अक्सिजन उद्योगले औसत चार हजार पाँच सय र नेपालगञ्जबाट दुई हजार सिलिण्डर अक्सिजन आयात गरेर खपत हुने गरेको बताइएको छ । सामान्य अवस्थामा सुदूरपश्चिममा हरेक महिना ९८ हजार ८६० लिटर अक्सिजन खपत हुने अनुमान गरिएको बेला सयौँ कोरोनाका बिरामीलाई अक्सिजनको सहायतामा राख्नुपर्ने अवस्था आए अक्सिजनको हाहाकार हुने सम्भावना देखिन्छ । हिमालय टाइम्सबाट





प्रतिकृया दिनुहोस्