सुदूरपश्चिम प्रदेशको पहिलो चौमासिक बजेट समीक्षा, २ अर्ब ९ करोड खर्च

धनगढी, मंसिर १० (ई–रैवार)
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ४ महिनामा करिब ६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ दशमलव ९३ प्रतिशत पुँजीगत बजेट खर्च गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले कुल १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रुपैयाँ पूँजीगत बजेट रहेकोमा ९९ करोड ३८ लाख ७६ हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।
प्रदेश सरकारले पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् दुई अर्ब नौ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक वर्ष ०७७/७८ को प्रथम चौमासिकसम्मको बजेट खर्च र राजस्व संकलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बोहराले यस वर्ष गत वर्षभन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताए ।
त वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएकामा यस वर्ष चालुतर्फ एक अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड ३८ लाख ७६ हजार अर्थात् ५ दशमलव ९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले बताए ।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो । प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालु तर्फ एक दशमलव २५ र पुँजीगततर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको बताए ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजारबराबरको बजेट विनियोजन गरेको थियो । मन्त्री बोहोराले यस वर्ष ९० प्रतिशतभन्दा बढी बजेट खर्च हुने दाबी गरे ।
यस्तै राजस्वतर्फ पनि गत वर्षभन्दा प्रगति भएको मन्त्री बोहोराले बताए । चालु आर्थिक वर्षमा ७६ करोड ७० लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो चौमासिकमै ४५ दशमलव ९३ प्रतिशत अर्थात् ३१ करोड ९ लाख ६६ हजार राजस्व संकलन गरेको मन्त्री बोहराले बताए ।
प्रदेश सरकारले गत आर्थिक वर्षको पहिलो चौमासिकमा ३२ दशमलव १२ प्रतिशत राजस्व संकलन गरेको थियो । तर यस वर्ष गत वर्षको पहिलो चौमासिकको तुलनामा ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ ।





प्रतिकृया दिनुहोस्