माथिल्लो चमेलियाका लागि जुट्यो पाँच अर्ब १८ करोड ऋण लगानी

महेन्द्रनगर, असोज १२ (ई-रैवार)
दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानी सम्बन्धी सम्झौतामा आईतबार आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत ७ अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने छन् भने २ अर्ब २२ करोड रुपैयाँ भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन्। कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।
यस्तै कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी आठ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत् आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो ।
दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरिया–बलाँच १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुनेछ ।
रासस
प्रतिकृया दिनुहोस्