September 3, 2026, Thursday
२०८३ भाद्र १८

लाङटाङ खोला आयोजनाको सुरुङबाट दुई शव निकालियो, २५ जना सम्पर्कविहीन

रसुवा । रसुवाको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।

सुरुङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली पेनस्टक पाइपबाट करिब १५० मिटर माथिसम्म पुगेको थियो। सोही बाटोबाट सेनाको टोलीले आज शव बाहिर निकालेको हो।

यसअघि सरकारी उद्धार टोलीले सुरुङको मुख्य मार्गबाट प्रवेश गर्ने प्रयास गरेको थियो। तर सुरुङभित्र ढुंगा, माटो र लेदो भरिएकाले करिब १०० मिटरभित्र पुगेपछि टोली अघि बढ्न सकेको थिएन।

त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीलाई खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। सुरुङमा अझै खोजीकार्य जारी रहेको महाप्रबन्धक भट्टराईले बताए।

आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।