संसद् बैठकमै ढले कांग्रेस सांसद भरत खड्का, वीर अस्पताल लगियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत खड्का एकाएक ढलेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफू बसेको ठाउँबाट ढलेपछि केही सांसद तत्काल उनीतर्फ गएका थिए। त्यसपछि सभामुखले केहीबेर बैठक स्थगित गरेका थिए।
खड्काको तत्काल स्वास्थ्य परीक्षण गर्दा रक्तचाप उच्च देखिएको थियो। उनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ।
यसअघि बैठकमै आफ्नो धारणा राख्दै खड्काले भोटेकोशी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन सरकारसँग माग गरेका थिए।
उनले नागरिकको ज्यान जोगाउन मित्र राष्ट्र तथा सहयोगी संस्थाबाट आवश्यक सहयोग लिन सरकारले हिचकिचाउन नहुने बताएका थिए।
‘राज्यको पहिलो कर्तव्य आफ्ना नागरिक बचाउनु हो,’ उनले भनेका थिए।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले डोटीका दिपक महरा र कीर्ति विष्टलगायत अझै अज्ञात रहेका व्यक्तिको तत्काल खोजी गरी परिवारलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।
उद्धार तथा राहतलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्नुपर्ने तथा राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनमा जुट्नुपर्नेमा पनि उनले जोड दिएका थिए।





प्रतिकृया दिनुहोस्