टनेल उद्धारमा उपकरण अभाव, सडक नबनेसम्म समस्या : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा मुख्य समस्या प्रविधि नभई आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन नसक्नु रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले बाढीका कारण सडक र पुल बग्दा जेसीबी, एस्काभेटर तथा ड्रिलिङ मेसिन आयोजनास्थलसम्म लैजान नसकिएको बताए।
‘टनेलभित्रको लेदो र गेग्रान हटाउन मेसिन चाहिन्छ, जुन सडक नभई पुर्याउन सकिँदैन,’ उनले भने, ‘अब सडक सञ्जाल जोडेर ती उपकरण परिचालन गरी उद्धारलाई अन्तिम रूप दिनुपर्छ।’
भेटमा प्रधानमन्त्री शाहले सुरुङमा फसेका नागरिकको उद्धारबारे चासो राखेका थिए। घिसिङले उद्धारका लागि आवश्यक प्राविधिक उपाय र चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
घिसिङका अनुसार भोटेकोशी बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। त्यसमध्ये करिब १६५ मेगावाट उत्पादन एक–दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको उनले बताए।
उनले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका लागि बिमा भुक्तानीमा सहजीकरण, ब्याज अनुदान तथा विशेष राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरेका छन्।
भविष्यमा यस्ता विपद्बाट जोगिन जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकन गर्नुपर्ने, जलवायु परिवर्तन र ठूला बाढीलाई ध्यानमा राखेर आयोजना निर्माण गर्नुपर्ने तथा नदी किनारभन्दा माथिबाट सडक सञ्जाल विस्तार गर्नुपर्ने सुझावसमेत उनले दिएका छन्।
घिसिङले स्याफ्रुबेँसी–रसुवागढीलगायत रणनीतिक सडक तत्काल मर्मत गरी ऊर्जा आयोजनासम्म पहुँच सुनिश्चित गर्नुपर्ने बताए।
भेटमा भौतिक पूर्वाधारमन्त्रीको समेत उपस्थिति थियो। घिसिङले विपद् प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा वृद्धवृद्धाको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको बताए। उनका अनुसार प्रभावित बालबालिकालाई काठमाडौं ल्याएर संरक्षण तथा शिक्षाको व्यवस्था गर्ने विषयमा प्रधानमन्त्री शाह सकारात्मक छन्।





प्रतिकृया दिनुहोस्