March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

चाउचाउ कम्पनीमा कार्यरत ४२ जनामा कोरोना पुष्टि

 

बर्दिया, भदौ २१ (ई-रैवार)

चौधरी ग्रुपको चाउचाउ उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको छ । बर्दियामा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये चौधरी ग्रुपको चाउचाउ उत्पादन गर्ने उद्योग सिजी फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएका ४३ जनामध्ये ४२ जना बाँसगडीमा रहेको सिजी फुड्स कम्पनीमा कार्यरत कर्मचारी हुन् ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमण पुष्टि भएकामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, ४ जना बढैयाताल गाउँपालिका र ५ जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेका छन् । उनले संक्रमित पुष्टि भएकामध्ये २९ जना महिला रहेको बताएका छन् ।

यसअघि सोही कम्पनीमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्याक्ट ट्रेसिङ गर्दा यति धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए ।

एकैदिन धेरैजनामा संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसिरहेको र बाँसगढी नगरपालिका सिल गर्ने तयारी भैरहेको उनले जानकारी दिए ।

यो सँगै बर्दियामा कुल संक्रमितहरुको संख्या ४ सय ७ पुगेको छ ।