बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग

धनगढी। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघको बुधबार बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठकले घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन अपिलसमेत गरेको छ ।
संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार संघका तर्फबाट सरकारको राहत कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । साथै, भोटेकोशी बाढीमा परेका सुदूरपश्चिमका पीडित तथा ज्यान गुमाएका परिवारलाई राहत सहयोग उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।
सरकारबाट आधिकारिक तथा वास्तविक तथ्यांक प्राप्त भएपछि थप राहत सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल, व्यावसायिक प्रतिष्ठान तथा अन्य भौतिक संरचनामा क्षति पुगेको र ठूलो संख्यामा नागरिक प्रभावित भएकाले विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने संघले जनाएको छ ।
संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघका विभिन्न तह, व्यवसायी, सामाजिक संघसंस्था, नागरिक समाज तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न आग्रह गरेको छ ।
‘विपद्मा परेकालाई सहयोग गर्नु नै हाम्रो साझा मानवीय दायित्व हो’ भन्ने भावनाका साथ सबै क्षेत्रबाट एकजुट भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न संघले अपिल गरेको छ ।





प्रतिकृया दिनुहोस्