भोटेकोशी विपद्को कारण भारी वर्षा होइन, हिमनदीको अस्थिरता : चिनियाँ वैज्ञानिक

काठमाडौं । गत हप्ता नेपाल–चीन सीमाक्षेत्रमा भएको विनाशकारी हिमपहिरो र त्यसपछि आएको बाढी तथा हिलोको लेदो तत्कालको भारी वर्षाका कारण नभएको चिनियाँ वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत इन्स्टिच्युट अफ तिब्बतियन प्लेटोको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले उच्च हिमाली क्षेत्रमा लामो समयदेखि भइरहेको हिमनदीको अस्थिरता र बरफ–चट्टान खस्ने प्रक्रियालाई विपद्को प्रमुख पृष्ठभूमि मानेको छ।

भदौ १० गते बिहान नेपालको लाङटाङ लिरुङको उत्तरी भेगस्थित उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खसेको थियो। तीव्र गतिमा खोँच हुँदै तल झरेको बरफ–चट्टानको थुप्रोले बाटोमा थप माटो, चट्टान तथा अन्य सामग्री बगाउँदै चीनको तिब्बतस्थित केरुङ बन्दरगाहसम्म पुग्दा विशाल हिलोको लेदोमा परिणत भएको अध्ययनमा उल्लेख छ।

विपद्पछि चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बतियन प्लेटो डेटा सेन्टरले तत्काल अध्ययन सुरु गरेको थियो। वैज्ञानिकहरूले भूउपग्रह तस्बिर, भू–भागको बनावटसम्बन्धी विवरण, भूकम्प मापन केन्द्रका अभिलेख, निगरानी क्यामेरा तथा भिडियो फुटेजको विश्लेषण गरी घटनाक्रमको मूल्याङ्कन गरेका थिए।

तत्कालको भारी वर्षा मुख्य कारण होइन

वैज्ञानिकहरूका अनुसार विपद्को स्रोत क्षेत्रमा घटनाअघि केही महिनासम्म वर्षा सामान्यभन्दा कम थियो। घटनाअघि तत्काल ठूलो वर्षासमेत भएको थिएन।

बरु, वर्षौँदेखि हिमनदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिमनदीको अग्रभागतर्फ निरन्तर बरफ पुग्नु तथा वसन्त र गर्मीमा सामान्यभन्दा बढी तापक्रम रहनुले हिउँ पग्लिने दर बढाएको र स्थायी तुषारो कमजोर बनाएको अध्ययनको निष्कर्ष छ।

यसले बरफ र चट्टानबीचको सतहको स्थिरता कमजोर बनाउँदै हिमनदीलाई क्रमशः अस्थिर बनाएको हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ। यद्यपि, घटनाको तत्कालीन र निश्चित कारण पहिचान गर्न पर्याप्त प्रमाण अझै नभएको उनीहरूले बताएका छन्।

२२ किलोमिटर यात्रामा थपियो माटो र चट्टान

वैज्ञानिकहरूले विपद्को विनाशकारी शक्ति प्रारम्भिक हिमपहिरोमा खसेको सामग्रीको मात्राले मात्रै निर्धारण नगरेको बताएका छन्।

अध्ययनअनुसार बरफ र चट्टानको थुप्रो करिब २२ किलोमिटर लामो खोँच हुँदै तल झर्दा नदीको सतह, खोँचको पिँध र आसपासका भिरबाट ठूलो मात्रामा माटो तथा चट्टान कटान गरी आफूसँगै बगाएको थियो।

नदीको पानीसँग मिसिएपछि बरफ–चट्टानको पहिरो विशाल हिलोको लेदोमा परिणत भएको र बाटोमा थप सामग्री मिसिँदै जाँदा यसको विनाशकारी क्षमता बढेको वैज्ञानिकहरूको निष्कर्ष छ।

हिमपहिरोअघि नै असामान्य संकेत

अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा अस्थिरताका सम्भावित संकेतसमेत फेला पारेका छन्।

भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटनाअघि केही असामान्य संकेत देखिएको र तीमध्ये केही संकेत साना बरफ तथा हिउँका गतिविधिसँग करिब उही समयमा देखिएको अध्ययनमा उल्लेख छ।

वैज्ञानिकहरूका अनुसार यस्ता संकेतको थप अध्ययनले उच्च हिमाली क्षेत्रमा हिमनदी अस्थिर हुने छोटो अवधिको प्रक्रिया पहिचान गर्न र सम्भावित पूर्वसूचना प्रणाली विकास गर्न सहयोग पुर्‍याउन सक्छ।

अध्ययनले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढ्दो विपद् जोखिम मूल्याङ्कन गर्दा स्रोतबाट कति सामग्री खस्न सक्छ भन्नेमा मात्र केन्द्रित हुन नहुने सुझाव दिएको छ।

स्रोत क्षेत्रको स्थिरता, बाटोमा थप सामग्री मिसिन सक्ने सम्भावना तथा तल्लो क्षेत्रमा रहेका बस्ती र महत्वपूर्ण पूर्वाधारलाई समेटेर समग्र विपद् शृङ्खलाको जोखिम मूल्याङ्कन गर्नुपर्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

वैज्ञानिकहरूले उक्त घटना हिमनदीमा देखिएको अस्थिरता कसरी कटान र थप सामग्री मिसिने प्रक्रियामार्फत तीव्र गतिमा विनाशकारी हिलोको लेदोमा परिणत हुन सक्छ भन्ने उदाहरण भएको बताएका छन्।

अध्ययनले विपद्पछिको उद्धार, क्षतिको मूल्याङ्कन र पुनर्निर्माणसँगै हिमालय क्षेत्रमा सीमापार विपद् निगरानी, पूर्वसूचना तथा संयुक्त जोखिम न्यूनीकरणका लागि समेत उपयोगी आधार प्रदान गर्ने वैज्ञानिकहरूको भनाइ छ।