September 2, 2026, Wednesday
२०८३ भाद्र १७

कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति तथा वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका प्रस्ताव गरिएको हो।

प्रस्तावित कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ।

कार्यपत्रमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने उल्लेख छ।

त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ।

कार्यपत्रमा वडा अधिवेशन भदौ २४ गते, पालिका अधिवेशन भदौ २७ गते तथा प्रदेश सभा निर्वाचन क्षेत्र भदौ ३१, प्रतिनिधि सभा क्षेत्रिय असोज ३ र जिल्ला अधिवेशन असोज ७, प्रदेश अधिबेशन असोज १० गते गर्ने उल्लेख छ।