कमजोरी स्वीकारेर उद्धारमा गम्भीर बन्न सरकारलाई सांसदहरूको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले रसुवा बाढीपछिको उद्धार तथा राहतमा भएका कमजोरी स्वीकार गर्दै नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद्का बेला भएका कमजोरी लुकाउन नहुने र सरकारले गरेका प्रयासलाई पनि अवमूल्यन गर्न नहुने बताए। विषम परिस्थितिमा उपलब्ध स्रोत–साधन मात्र परिचालन गरेर जिम्मेवारी पूरा भएको ठान्न नहुने उनको भनाइ थियो।
उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विश्वविद्यालय, निजी क्षेत्र, नागरिक समाज र मित्रराष्ट्रसँग उपलब्ध विज्ञता तथा प्रविधि आवश्यकताअनुसार तत्काल परिचालन गर्नुपर्नेमा उनले जोड दिए। प्राकृतिक विपद्को समयमा सबै पक्षबीच सहकार्य गर्दै प्राविधिक रूपमा सक्षम जनशक्तिलाई मैदानमा खटाउनुपर्ने उनले बताए।
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्का बेला सरकारलाई साथ दिनु भनेको सरकारका गलत कामलाई समर्थन गर्नु नभएको बताए। राम्रो काममा साथ र कमजोरीमा खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको उनको भनाइ थियो।
उनले बाढी आएको एक साता बितिसक्दा पनि खोज तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको आलोचना गरे। सरकारलाई कमजोर बनाउन नभई प्रभावकारी बनाउन प्रश्न उठाइएको स्पष्ट पार्दै उनले भने, “यो प्रचार होइन, प्राण बचाउने समय हो।”
विशेषगरी सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय भएको आङदेम्बेको भनाइ थियो। सरकार सामाजिक सञ्जालमा बढी र फिल्डमा कम देखिएको टिप्पणी गर्दै उनले उद्धारमा प्राविधिक, विज्ञ र आवश्यक साधनको तत्काल व्यवस्था गर्नुपर्ने बताए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि सेना परिचालन भएजस्तो जनपरिचालन हुन नसकेको बताए।
बाढीपछि गृहमन्त्रीको सक्रियता देखेर आफूले सरकारबाट राम्रो पहल हुने अपेक्षा गरेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री र मन्त्रीहरूको सक्रियता पर्याप्त नभएको बताए। तीनै तहका सरकारबीच समन्वय नहुँदा विपद्को सामना गर्न कठिन भएको उनको भनाइ थियो।
उनले सरकार उद्धार कार्यमा असफल भएको जनगुनासो बढिरहेको भन्दै उद्धार तथा राहतमा राज्यका सबै संयन्त्र र नागरिक शक्तिलाई एकीकृत रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।





प्रतिकृया दिनुहोस्