रुस सम्मेलनमा नेपालको धारणा प्रभावकारी बनेको प्रचण्डको दाबी, भारत भ्रमणमा पञ्चेश्वर अघि बढाउन सुझाव

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र आफ्नो पार्टीको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको दाबी गरेका छन्। उनले सम्मेलनमा नेपालको उपस्थिति र आफ्नो सम्बोधनले देश, पार्टी तथा कम्युनिस्ट आन्दोलनको गरिमा बढाएको बताए।
रुसमा आयोजित ‘फर द फ्रिडम अफ नेसन्स’ सम्मेलनबाट बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अपेक्षा गरेभन्दा सम्मेलनमा नेपालको प्रस्तुतिले बढी प्रभाव पारेको बताए।
‘मैले जति सोचेर गएको थिएँ, त्यसभन्दा बढी नै भयो। नेपालको गरिमा, हाम्रो पार्टीको र कम्युनिस्ट आन्दोलनको पनि गरिमा उठेको महसुस गरेको छु,’ उनले भने।
प्रचण्डका अनुसार सम्मेलनमा ७६ देशका राजनीतिक दलका नेता, अध्यक्ष, पूर्वमन्त्री तथा पूर्वप्रधानमन्त्रीसहित करिब साढे चार सय प्रतिनिधि सहभागी थिए। तीन दिनसम्म चलेको सम्मेलनमा उनले दुई पटक सम्बोधन गर्ने अवसर पाएका थिए।
पहिलो सम्बोधनमा उनले नेपालको वर्तमान राजनीतिक परिस्थिति र अवस्थाबारे धारणा राखेका थिए। दोस्रो दिन आयोजित महासभामा उनले विश्व परिस्थिति तथा नेपालको अन्तर्राष्ट्रिय दृष्टिकोण प्रस्तुत गरेका थिए।
उनले विश्वमा भइरहेका युद्ध तथा विभिन्न देशबीच बढ्दो तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्थातर्फको परिवर्तन, प्यालेस्टाइन र युक्रेनलगायत विषयमा नेपालको र आफ्नो पार्टीको धारणा स्पष्ट रूपमा राखेको बताए।
‘मैले सबै विषयमा हाम्रो पार्टीको र नेपाल देशको जे पोजिसन हो, त्योबारे प्रस्ट कुरा राखेँ। त्यसपछि त्यहाँ राम्रो उत्साहको वातावरण बन्यो,’ उनले भने, ‘कतिपय प्रतिनिधि उठेर अङ्कमाल गर्न र राम्रो भयो भन्नसमेत आए।’
प्रचण्डले सम्मेलनमा आफ्नो परिचय गराउँदा आयोजकले विशेष महत्त्व दिएको पनि बताए। आयोजकले आफूलाई एसियाका विशिष्ट नेताका रूपमा प्रस्तुत गर्दै युद्धको कमान्डर, शान्तिको नेता तथा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा परिचय गराएको उनको भनाइ थियो।
‘उद्घोषकहरूले मेरो बारेमा अलि विशिष्ट खालले प्रस्तुत गरिदिनुभयो। त्यसरी नै बुझ्नुभएको रहेछ। साढे चार सय नेतामाझ त्यसले राम्रो आकर्षण पैदा गरेको थियो,’ उनले भने।
सम्मेलनको उद्घाटनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिखित मन्तव्य प्रस्तुत गरिएको प्रचण्डले जानकारी दिए। चीन भ्रमणका कारण पुटिन स्वयं सम्मेलनमा उपस्थित हुन नसकेको र उनको पार्टी युनाइटेड रसियाका अध्यक्षले मुख्य सम्बोधन गरेको उनले बताए।
नेपालबाट आफ्नो पार्टीलाई मात्रै सम्मेलनमा निमन्त्रणा गरिएको र आयोजकले आफूहरूलाई विशेष महत्त्व दिएको पनि प्रचण्डले बताए। सम्मेलनबाट प्राप्त महत्त्वलाई आगामी दिनमा नेपाल र आफ्नो पार्टीले कसरी उपयोग गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ।
उनले सम्मेलनलाई विश्व समुदायमाझ नेपालको धारणा सम्प्रेषण गर्ने प्रभावकारी मञ्चका रूपमा लिएको बताए।
भारत भ्रमणमा पञ्चेश्वर अघि बढाउन सुझाव
यसैबीच, प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायतका विषयलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका छन्।
रुस भ्रमण सम्पन्न गरी स्वदेश फर्किएलगत्तै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजनालगायतका कामलाई वर्तमान नेतृत्वले टुंगोमा पुर्याए उचित हुने बताए।
विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकाससँग सम्बन्धित सहमति र समझदारीलाई पनि अघि बढाउनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्रीको भारत भ्रमण र वर्तमान सरकारको कार्यशैलीप्रति आफ्नो धारणा स्पष्ट रहेको बताउँदै प्रचण्डले राम्रो कामलाई समर्थन र सहयोग गर्ने तथा गलत कामको आलोचना गर्ने आफ्नो नीति रहेको बताए।
‘राम्रो काम गर्दा समर्थन र सहयोग हुन्छ, नराम्रो काम गर्दा आलोचना हुन्छ,’ उनले भने।





प्रतिकृया दिनुहोस्