बाजुरामा स्याउ उत्पादन बढ्यो, बजार र सडक अभावले किसान चिन्तित

बाजुरा । बाजुरामा स्याउ उत्पादन बढ्दै गए पनि किसानले त्यसको अपेक्षित लाभ लिन सकेका छैनन्। यस वर्ष जिल्लामा ३३७ मेट्रिकटन स्याउ उत्पादन भए पनि करिब ५६ प्रतिशत मात्रै बिक्री भएको छ। सडक, ढुवानी, बजार र शीतभण्डारको अभावले उत्पादन बढे पनि किसानको आम्दानीमा त्यसअनुसार सुधार आउन सकेको छैन।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा यस वर्ष ३३७ मेट्रिकटन अर्थात् ३ हजार ३७० क्विन्टल स्याउ उत्पादन भएको हो। केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेका अनुसार खेतीको क्षेत्रफल विस्तार भएसँगै विगतको तुलनामा उत्पादन बढेको हो।
जिल्लामा मुख्यगरी स्वामीकार्तिक खापर, जगन्नाथ, हिमाली र बुढीनन्दामा स्याउखेती हुँदै आएको छ। यस वर्ष स्वामीकार्तिक खापरमा १२५, जगन्नाथमा ९७, बुढीनन्दामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।
उत्पादित स्याउमध्ये करिब ५६ प्रतिशत बिक्री हुँदा जिल्लाभित्र र बाहिरी जिल्लामा गरी १ करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ कारोबार भएको छ। गत वर्ष करिब १ करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो।
बाजुरामा अहिले करिब ४२५ हेक्टरमा स्याउखेती भइरहेको छ। त्यसमध्ये २१० हेक्टरमा उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। चार प्रमुख पालिकाका अतिरिक्त खप्तड छेडेदह र गौमुललगायतका क्षेत्रमा समेत खेती विस्तार भइरहेको छ।
तर उत्पादन बढे पनि बजारसम्म पुर्याउने संरचना कमजोर हुँदा किसान समस्यामा छन्। कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार वर्षायाममा अवरुद्ध सडक स्याउ पाक्ने बेलासम्म सञ्चालनमा नआउँदा बजारीकरण प्रभावित भएको हो।
‘वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो,’ विष्टले भने, ‘दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै मार्तडी, धनगढी र नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो।’
यस वर्ष स्याउ ढुवानीमा विगतमा हुँदै आएको सरकारी सहयोगसमेत प्रभावकारी हुन नसकेको केन्द्रले जनाएको छ। प्रदेश सरकारको बजेट नआएका कारण किसानले आफ्नै खर्चमा ढुवानी गरेर स्याउ बजार पुर्याउनुपर्ने अवस्था आएको विष्टले बताए।
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतका अनुसार स्याउ उत्पादन हुने समयमा सडक अवरुद्ध हुँदा कतिपय किसानले बारीबाट बजारसम्म स्याउ बोकेरै लैजानुपर्ने अवस्था छ।
‘स्याउ पाक्ने समयमा सडक अवरुद्ध हुँदा बजारसम्म लैजानै समस्या हुन्छ। धेरैपटक बारीमै स्याउ खेर जाने अवस्था आउँछ,’ रावतले भने।
सडक खुलेपछि पनि समस्या समाधान हुँदैन। बाजुराबाट धनगढी र नेपालगञ्जसम्म स्याउ पुर्याउँदा लामो दूरी, महँगो ढुवानी र सडकको असहजताका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको उनको भनाइ छ।
किसानका लागि अर्को ठूलो समस्या शीतभण्डारको अभाव हो। तत्कालै बिक्री हुन नसकेको स्याउ सुरक्षित राखेर अन्य समयमा बजारमा लैजाने सुविधा नहुँदा उत्पादनको ठूलो हिस्सा खेर जाने जोखिम छ। शीतभण्डार नहुँदा किसानले बजारमा मूल्य कम भएका बेला पनि स्याउ बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँछन्।
उता, स्याउखेतीबाट लगानी र मिहिनेतअनुसार आम्दानी हुन थालेपछि जिल्लामा यसको व्यावसायिक आकर्षण भने बढिरहेको छ। कृषि ज्ञान केन्द्रले क्षेत्रफल विस्तार तथा बगैँचा सुदृढीकरणका लागि अनुदानसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
बाजुरामा स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसजस्ता उन्नत जातका स्याउखेतीसमेत विस्तार भइरहेको केन्द्रका प्रमुख विष्टले बताए।
किसानलाई बिरुवा वितरण, प्राविधिक परामर्श, बगैँचा व्यवस्थापन तथा उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्ने कार्यक्रमले व्यावसायिक खेतीतर्फ आकर्षण बढाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
उनका अनुसार सडक स्तरोन्नति, नियमित ढुवानी, शीतभण्डार, बजार व्यवस्थापन र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके बाजुराको स्याउखेती जिल्लाको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ।
अहिले बाजुराको स्याउखेतीमा समस्या उत्पादनको भन्दा उत्पादनपछि सुरु हुने बजार व्यवस्थापनको बढी देखिएको छ। खेती विस्तारसँगै बजार र भण्डारण पूर्वाधार निर्माणमा लगानी बढाउन नसके उत्पादन बढे पनि त्यसको वास्तविक लाभ किसानसम्म पुग्न कठिन हुने देखिन्छ।



प्रतिकृया दिनुहोस्