१०औँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा, ११ टोली सहभागी हुने

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।
१०औँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। प्रतियोगिताको उद्घाटन तथा समापन समारोह सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुनेछ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्स मा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
राखेपका अनुसार प्रत्येक टोलीबाट ६६० जनाको सहभागिता रहनेछ। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।
प्रतियोगिता सञ्चालनका लागि १ हजार ३० जना निर्णायक परिचालन गरिनेछ। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको समेत सहभागिता रहनेछ।
सात जिल्लामा खेल
१०औँ राष्ट्रिय खेलकुदका खेलहरू कर्णाली प्रदेशका विभिन्न जिल्लासहित नेपालगन्ज र बर्दियामा समेत सञ्चालन हुनेछन्। सुर्खेतमा सबैभन्दा बढी २३ खेल आयोजना हुनेछन्।
त्यस्तै, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुने राखेपले जनाएको छ।
पदक विजेतालाई नगद पुरस्कार
राखेपले यसपटक व्यक्तिगत तथा टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारसमेत दिने व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेताले २० हजार रुपैयाँ, रजतले १५ हजार रुपैयाँ र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
टिम स्पर्धामा स्वर्ण पदक विजेताले १५ हजार, रजतले १० हजार र कांस्य पदक विजेताले ८ हजार रुपैयाँ पाउनेछन्। राखेपका अनुसार रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार दिने व्यवस्था यसपटक पहिलोपटक गरिएको हो।
पटकपटक सर्दै आएको प्रतियोगिता
पटकपटक मिति सर्दै आएको १०औँ राष्ट्रिय खेलकुदको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले २०८३ साउन २८ गते निर्धारण गरेको थियो। सोही निर्णयअनुसार प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन गर्न लागिएको हो।





प्रतिकृया दिनुहोस्