सुदूरपश्चिम महोत्सव-२०८३ मंसिर २२ देखि, ८ लाख दर्शक भित्र्याउने लक्ष्य

धनगढी । सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापार र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ८ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।
महोत्सवलाई यस वर्ष व्यापार तथा मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधि विस्तारको माध्यम बनाउने आयोजकको तयारी छ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई समेत महोत्सवले प्राथमिकतामा राखेको छ।
यस वर्ष बृहत् व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ। कृषि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि, ताजा तरकारी तथा कृषि उपजको प्रदर्शनी तथा प्रतिस्पर्धाका साथै स्थानीय कृषि तथा व्यावसायिक उत्पादनलाई प्रदर्शनमा राखिनेछ। यसबाट कृषक, उद्यमी तथा व्यवसायीलाई उत्पादनको बजारीकरण, प्रविधि आदानप्रदान र नयाँ व्यावसायिक अवसर विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका करिब ५२४ वटा स्टल रहनेछन्। तीमध्ये १५० वटा प्यागोडा शैलीका स्टल रहनेछन्। महोत्सवस्थललाई थप आकर्षक बनाउन प्रवेशद्वारदेखि मुख्य गेटसम्म दुवैतर्फ ‘अम्ब्रेला स्ट्रिट’ निर्माण गरिने आयोजकले जनाएको छ।
स्थानीय उत्पादन र उद्यमीलाई प्राथमिकता दिँदै भारतलगायत विभिन्न क्षेत्रबाट सहभागी हुने उद्योगी तथा व्यवसायीलाई समेत सहभागिताको अवसर दिइनेछ। महोत्सवस्थलमा सुदूरपश्चिमका मौलिक परिकारसहित विभिन्न खानाका स्टल रहनेछन्। खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा व्यवस्थापनका लागि होटल व्यवसायी संघसँग समन्वय गरिएको आयोजकले जनाएको छ।
सुदूरपश्चिमको मौलिक कला तथा सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले लोकगीत, लोकनृत्य, कला, संस्कृति र परम्परालाई विशेष स्थान दिइनेछ। विगतका महोत्सवबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल कलाकारसँगै सम्भावनायुक्त स्थानीय कलाकारलाई समेत प्राथमिकताका साथ मञ्च उपलब्ध गराइनेछ।
प्रदेशको विकासका सम्भावना, चुनौती र भावी कार्यदिशाबारे बहस गर्न ‘भिजन सुदूरपश्चिम’ कार्यक्रमसमेत सञ्चालन गरिनेछ। विभिन्न क्षेत्रका विज्ञ, प्रबुद्ध व्यक्तित्व, नीति निर्माता तथा सरोकारवालाको सहभागितामा हुने बहसलाई यस वर्ष थप प्रभावकारी बनाउने तयारी गरिएको संघले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले सुदूरपश्चिम महोत्सवलाई केवल व्यापारिक तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा नभई आर्थिक समृद्धि, उद्यमशीलता, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताए।
उनका अनुसार महोत्सवले स्थानीय उत्पादन तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना, लगानी आकर्षण र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउनेछ। महोत्सवबाट प्राप्त ज्ञान, सीप र अवसरको उपयोग गर्दै धेरै युवाले आफ्नै व्यवसाय सुरु गरी उद्यमीका रूपमा स्थापित भएको उनको भनाइ छ।
यस वर्षको महोत्सवमा करिब ४ करोड रुपैयाँ लगानी हुने र अवधिभर करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। आयोजकले महोत्सवमा करिब ८ लाख दर्शक सहभागी हुने अपेक्षा गरेको छ।
महोत्सव अवलोकनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नवीकरण भएका सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २५ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ। सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै महोत्सवस्थलमा आधुनिक सीसीटीभी क्यामेराबाट निरन्तर निगरानी गरिने तथा निजी र सरकारी सुरक्षा निकायका जनशक्ति परिचालन गरिने आयोजकले जनाएको छ।
मौसमी चुनौती तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सामग्री, दक्ष जनशक्ति तथा विपद् प्रतिकार्यको पूर्वतयारीका लागि धनगढी उपमहानगरपालिकालगायत सम्बन्धित निकायसँग समन्वय गरिएको संघले जनाएको छ।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवलाई यस वर्ष प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने अवसरका रूपमा अघि बढाउने आयोजकको तयारी छ।
संघले राजनीतिक दल, तीनै तहका सरकार, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज तथा स्वदेश–विदेशमा रहेका सुदूरपश्चिमवासीलाई महोत्सवमा सक्रिय सहभागिताका लागि अपिल गरेको छ।



प्रतिकृया दिनुहोस्