November 18, 2026, Wednesday
२०८३ मंसिर ३

स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन्।

उद्योग वाणिज्य संघ अत्तरियाद्वारा आयोजित स्वास्थ्य युवा महोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या, बढ्दो नसर्ने रोग, मानसिक स्वास्थ्य चुनौती तथा आत्महत्याजस्ता गम्भीर सामाजिक समस्याको न्यूनीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले पछिल्लो समय सर्ने रोगको तुलनामा नसर्ने रोगको प्रकोप बढ्दै गएको तथा मानसिक तनाव, डिप्रेसन र आत्महत्याका घटना पनि बढिरहेको उल्लेख गरे। यस्ता समस्याको रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्यसम्बन्धी सचेतना र जनचेतनामूलक कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो।

मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रको सुधार, रोगको रोकथाम तथा जनस्वास्थ्यसँग सम्बन्धित गतिविधिमा प्रदेश सरकार सहयोग र सहकार्यका लागि सधैँ तयार रहेको बताए।

सुदूरपश्चिमको भौगोलिक अवस्था र विशेषगरी पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा देखिएको समस्या समाधान गर्न सरकारले बैतडीको खोडपे र बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको उनले जानकारी दिए। त्यस्तै, दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको उनले बताए।

मुख्यमन्त्री भट्टले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका नागरिकको लामो संघर्ष, चाहना र निरन्तर प्रयासको प्रतिफल भएको उल्लेख गर्दै विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा पढाइ रोकिन नहुने बताए।

संघीय सरकार र डा। गोविन्द केसीबीच भइरहेको सम्झौताका कारण एमबीबीएस अध्ययन प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनले विश्वविद्यालयको शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए।