चितवनले टस जित्यो, काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बुधबारको एलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने काठमान्डु गोर्खाजको नेतृत्व नियमित कप्तान करण केसीले नै गर्नेछन्।
चितवनले आजको खेलमा दुई परिवर्तन गरेको छ। सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलान टोलीमा फर्किएका छन्। यस्तै, काठमान्डुले पनि दुई परिवर्तन गरेको छ। सुमीत महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेट टोलीमा आएका छन्।
आजको खेलमा पराजित हुने टोलीको एनपीएल सिजन–३ को यात्रा समाप्त हुनेछ। विजेता टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा काठमान्डु तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमान्डुले सात खेलबाट ८ अंक जोड्दा चितवनले ७ अंक जोडेको थियो। यी दुई टोलीबीच लिग चरणमा भएको खेलमा काठमान्डुले चितवनलाई १० रनले पराजित गरेको थियो।
यसैबीच, मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ। आजको एलिमिनेटरको विजेताले अब लुम्बिनीसँग उपाधिका लागि भिड्ने अवसर पाउनेछ।





प्रतिकृया दिनुहोस्