November 17, 2026, Tuesday
२०८३ मंसिर ३

१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोट सुरु

धनगढी । कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ।

प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। कैलाली, कञ्चनपुर र डडेल्धुरामा विभिन्न खेलका प्रदेशस्तरीय छनोट प्रतियोगिता आयोजना गरिएको छ।

धनगढी रंगशालामा आयोजित कार्यक्रममा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गर्नुभयो। डडेल्धुरामा महिला तथा पुरुष भलिबलको प्रदेशस्तरीय छनोट सञ्चालन हुनेछ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोर्ट्सका प्रतियोगिता सञ्चालन हुनेछन्।

त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन हुने परिषद्ले जनाएको छ।

प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहने परिषद्ले जनाएको छ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले खेलकुद मानिसलाई अनुशासित र स्वस्थ बनाउन महत्वपूर्ण माध्यम भएको बताउनुभयो। प्रदेश सरकारले उपलब्ध स्रोत र साधनअनुसार खेल क्षेत्रको विकासमा सहकार्य गर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।