November 17, 2026, Tuesday
२०८३ मंसिर २

पहिलो क्वालिफायरमा लुम्बिनीले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिमले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्यससँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।

लुम्बिनीले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। टोलीले पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन।

सुदूरपश्चिमले भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ। दीपक बोहराको स्थानमा अविनाश बोहरा टोलीमा फर्किएका छन्। यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले पहिलो रोजाइमा स्थान बनाएका छन्।

स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन आईएल टी–२० खेल्न यूएई गएपछि उनको स्थानमा टोलीमा आएका स्कटल्यान्डकै जर्ज मन्सेले पहिलोपटक सुदूरपश्चिमको पहिलो रोजाइबाट खेल्न लागेका हुन्।

पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।