November 17, 2026, Tuesday
२०८३ मंसिर २

नोभेम्बर २५ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै

काठमाडौं । महिलामाथि हुने हिंसा अन्त्यका लागि सञ्चालन हुँदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने भएको छ। नेपाली पात्रोअनुसार अभियान २०८३ मंसिर ९ देखि २४ गतेसम्म चल्नेछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा “UNiTE to End Violence Against Women and Girls: Ensure justice, protect survivors, end impunity.” रहेको छ। यसको नेपाली भावार्थ ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने’ रहेको छ।

नेपालमा भने अभियानका लागि “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नारा तय गरिएको छ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र ऐक्यबद्धता बढाउँदै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी प्रबन्धसँगै राज्यका निकाय, नागरिक समाज, समुदाय र सरोकारवाला सबै पक्षको साझा प्रयास तथा सक्रिय सहभागिता आवश्यक रहेको सन्देश अभियानले दिनेछ।

अभियान अवधिमा लैङ्गिक हिंसाका कारण, प्रभाव, रोकथाम तथा पीडितको न्यायमा पहुँचका विषयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्। हिंसा सहन नहुने, पीडितको संरक्षण र न्याय सुनिश्चित गर्नुपर्ने तथा हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने विषयलाई अभियानले प्राथमिकताका साथ उठाउनेछ।

महिला तथा बालिकाविरुद्ध हुने हिंसाको अन्त्यलाई महिला अधिकारको सवालमा मात्र सीमित नराखी मानव अधिकार, न्याय, समानता र सामाजिक रूपान्तरणको साझा मुद्दाका रूपमा स्थापित गर्न अभियानले जोड दिनेछ।