November 17, 2026, Tuesday
२०८३ मंसिर २

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ पछि बस्ने, जिल्ला-प्रदेश अधिवेशनको मिति तोकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ। महामन्त्री प्रदीप पौडेलले बैठक मंसिर ५ गतेपछि बोलाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

महामन्त्री प्रदीप पौडेलले बैठकको मिति र एजेण्डाबारे अहिले छलफल भइरहेको बताए। ‘बैठक ५ गतेपछि मात्रै आह्वान हुन्छ। बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ पौडेलले भने।

कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन सम्पन्न गरेकाले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट जिल्ला र प्रदेश अधिवेशनको मिति तय गर्ने तयारी छ।

सभापति गगन थापाले छठ पर्वका अवसरमा सर्लाही–४ पुगेका बेला केन्द्रीय कार्यसमिति बैठक बोलाएर जिल्ला तथा प्रदेश अधिवेशनको मिति तोक्ने बताएका थिए। उनका अनुसार पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाउने तयारी छ।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति निर्वाचन आयोगमा अध्यावधिक हुने प्रक्रिया भने अझै पूरा भएको छैन। आयोगले मागेका आवश्यक कागजात पार्टीले पूरा रूपमा बुझाउन नसकेपछि अध्यावधिक प्रक्रिया लम्बिएको हो।

असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो। नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते नयाँ कार्यसमिति अध्यावधिकका लागि निर्वाचन आयोगमा कागजात बुझाएको थियो।

तर आयोगले थप कागजात मागेपछि कांग्रेसले ती सबै कागजात बुझाउन सकेको छैन। मंगलबार पनि कांग्रेसका नेताहरू आयोगको कान्तिपथस्थित कार्यालयमा थप कागजात बुझाउन पुगेका थिए। आयोगका एक पदाधिकारीका अनुसार अझै एउटा आवश्यक कागजात नपुगेकाले बुधबार ल्याउन भनिएको छ।

कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र विवादसमेत कायम छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनलाई अस्वीकार गर्दै मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने घोषणा गरेको छ। उक्त पक्षले त्यसका लागि मातहतका अधिवेशनसमेत अघि बढाइरहेको छ।

देउवा पक्षले समानान्तर महाधिवेशनबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ। आयोगले उक्त जानकारी दर्ता गरेको जनाएको छ।

अब बस्ने केन्द्रीय कार्यसमिति बैठकले जिल्ला तथा प्रदेश अधिवेशनको मिति तय गर्नुका साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ। त्यससँगै निर्वाचन आयोगमा नयाँ कार्यसमितिको अध्यावधिक र पार्टीभित्र देखिएको विवादको विषय पनि कांग्रेसका लागि महत्वपूर्ण बन्ने देखिएको छ।