सुदूरपश्चिम प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेल्धुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहमा उनले सुदूरपश्चिमलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सबैसँग सहकार्य गरिने बताए ।
मुख्यमन्त्री भट्टले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले खेल पर्यटनको माध्यमबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन योजनाबद्ध पहल र पूर्वाधार निर्माणको आवश्यकता औँल्याए ।
मुख्यमन्त्री भट्टले विश्वका धेरै देश खेलकुद र खेलाडीका माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा परिचित भएको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान स्थापित गर्न यहाँका खेलाडीले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । उनले स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्ने जोड दिए ।
“खेलाडीको क्षमता अभिवृद्धि, वृत्तिविकास, खेल पूर्वाधार निर्माण तथा खेलकुद क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यमा कुनै कसर बाँकी राख्ने छैन । मिलेर खेल क्षेत्रको समग्र विकास गर्न हामी प्रतिबद्ध छौँ”, मुख्यमन्त्री भट्टले भने ।



प्रतिकृया दिनुहोस्