November 17, 2026, Tuesday
२०८३ मंसिर २

ठुलाकेदार धाम जान धनगढी उपमहानगरले खुलायो आवेदन, २०० जनालाई ५ बस निःशुल्क

धनगढी । धनगढी उपमहानगरपालिकाले डोटीको प्रसिद्ध ठुलाकेदार धाम दर्शनका लागि २०० जना नगरवासीलाई धार्मिक यात्रामा सहभागी गराउने भएको छ।

चालु आर्थिक वर्ष २०८३र०८४ को स्वीकृत ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानअन्तर्गत उपमहानगरपालिकाले बडीकेदार धामको धार्मिक यात्राका लागि आवेदन खुला गरेको हो।

सामाजिक विकास शाखाले मंसिर १ गते जारी गरेको सूचनाअनुसार यात्रामा सहभागी हुन इच्छुक नगरवासीले मंसिर ४ गते अपराह्न ४ बजेसम्म आवेदन दिनुपर्नेछ।

यात्रामा सहभागी हुन धनगढी उपमहानगरपालिकाको स्थायी बासिन्दा भई कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ। बढीमा २०० जना तीर्थालु ‘पहिलो आवेदन, पहिलो छनोट’ का आधारमा छनोट हुनेछन्।

आवेदनको ढाँचा सामाजिक विकास शाखाबाट प्राप्त गर्न सकिनेछ। आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि बुझाउनुपर्नेछ। बसाइँसराइ गरी धनगढी आएका आवेदकले बसाइँसराइको प्रमाणपत्रको प्रतिलिपिसमेत पेश गर्नुपर्नेछ।

छनोट भएका तीर्थालुहरू मंसिर ६ गते बिहान ११ बजे पाँचवटा बसमा धनगढीबाट बडीकेदारतर्फ प्रस्थान गर्नेछन्। उनीहरू मंसिर ७ गते अपराह्न ४ बजे धनगढी फर्किने कार्यक्रम रहेको छ।

सामाजिक विकास अधिकृत टंकबहादुर बिष्टका अनुसार यात्राका लागि आउने–जाने बस यातायातको व्यवस्था उपमहानगरपालिकाले निःशुल्क गर्नेछ। तर खाना, बासलगायतका अन्य खर्च भने सहभागी स्वयंले व्यहोर्नुपर्नेछ।

ठुलाकेदार धाम डोटीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। उपमहानगरपालिकाले सञ्चालन गरेको यो अभियानले नगरवासीलाई सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रसँग जोड्ने उद्देश्य राखेको जनाएको छ।

यात्रासम्बन्धी थप जानकारीका लागि सामाजिक विकास शाखाको ९८४८४४९८५७ वा ९८४८४३८६८८ नम्बरमा सम्पर्क गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।