स्थानीय तह निर्वाचन गैरदलीय प्रणालीबाट गर्न स्वतन्त्र नागरिक अभियानको माग

काठमाडौं । स्वतन्त्र नागरिक अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न माग गरेको छ। अभियानका अध्यक्ष ऋषि धमलाले बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहमा दलगत प्रतिस्पर्धाको सट्टा स्वतन्त्र उम्मेदवारबीच निर्वाचन गराउन माग गरेका हुन्।
अभियानले स्थानीय तह निर्वाचन ऐन, २०७३ लगायत निर्वाचनसम्बन्धी विद्यमान कानुन तथा कार्यविधि पुनरावलोकन र आवश्यक संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका निर्वाचन चिह्न प्रयोग गर्ने व्यवस्था अन्त्य गरी प्रत्येक उम्मेदवारलाई व्यक्ति विशेषको स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्नुपर्ने माग गरिएको छ।
अभियानले निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण, निर्वाचनसम्बन्धी कानुन संशोधन तथा स्थानीय तहको निर्वाचनबारे हुने छलफल र नीतिगत बहसमा स्वतन्त्र नागरिक अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत गरेको छ।
गैरदलीय निर्वाचन प्रणालीका लागि आवश्यक कानुनी तथा प्राविधिक आधार तयार भएपछि मात्रै आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने अभियानको धारणा छ।
ज्ञापनपत्रमा स्थानीय तहमा दलीय हस्तक्षेप, राजनीतिक ध्रुवीकरण, भागबन्डा र दलगत स्वार्थ हावी हुँदा विकास निर्माण, सार्वजनिक सेवा प्रवाह र वित्तीय सुशासन प्रभावित भएको दाबी गरिएको छ।
स्थानीय तहलाई दलीय हस्तक्षेपबाट मुक्त राख्दै नागरिकको योग्यता, क्षमता, कार्यदक्षता र स्थानीय आवश्यकताका आधारमा नेतृत्व चयन गर्ने वातावरण बनाउनुपर्ने अभियानको भनाइ छ।




प्रतिकृया दिनुहोस्